arrow

चाडपर्वलाई लक्षित गरेर ट्राफिक व्यवस्थापन योजना सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ४ सोमबार
traffic-police.JPG

काठमाडौँ । ट्राफिक प्रहरीले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर ट्राफिक व्यवस्थापन योजना सार्वजनिक गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नजिकिँदै गरेको बडादशैँ, तिहार तथा छठलगायतका पर्वलाई लक्षित गरेर चाडपर्व व्यवस्थापन विशेष सुरक्षा योजना सार्वजनिक गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यका साथ महाशाखाले चाडपर्व विशेष सुरक्षा योजना आजदेखि लागू गरेको जानकारी दिए ।  

“चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा यात्रुलाई पर्नसक्ने विभिन्न समस्यालाई सम्बोधन गरी सहज यात्राको प्रबन्ध मिलाउन सुरक्षा योजना लागू गरेका हौँ”, उनले भने । योजनाको प्रभावकारी व्यवस्थापन गर्न थप जनशक्ति परिचालन, जाँचमा कडाइ र नागरिक सहायता कक्ष स्थापना गरी सेवा प्रवाह गर्ने योजना रहेको उनको भनाइ थियो । 

उनले बसपार्क, टिकट काउण्टर र अन्य ठाउँमा हुने भीडभाडका कारण कोरोना सङ्क्रमण बढ्ने भन्दै त्यस्ता ठाउँमा ट्राफिक प्रहरी खटाएर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए । ट्राफिक प्रहरीले चाडपर्वको समयमा हुने सवारी चाप व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि जाँचलाई कडाइ पार्ने भएको छ । चाडपर्वमा रमाइलो गर्ने बहानामा मादक पदार्थ सेवन गरी सवारी चलाउनेको सङ्ख्या बढ्ने र दुर्घटना हुन सक्ने कुरालाई मध्यनजर गर्दै रात्रीकालीन मात्र नभई दिनको समयमा जाँचलाई कडाइ गरिने एसएसपी भट्टराईले बताए । 

थानकोट, नागढुङ्गा, जगाती, फर्पिङ, साँखु, बालाजुबाइपास, मुड्खु, टोखालगायतबाट उपत्यका बाहिरिने सबै प्रकारका सवारी साधनलाई नाकामा कडाइका साथ जाँच गर्ने महाशाखाले जनाएको छ । महाशाखाले सार्वजनिक गरेको विशेष सुरक्षा योजनामा लामो दूरीका सवारी साधनमा अनिवार्य रुपमा दुईवटा चालक भए-नभएको एप्सबाट जाँच गर्ने बताएको छ ।  ट्राफिक प्रहरीले उपत्यकाका बढी भीडभाड हुने क्षेत्रलाई पहिचान गरी ट्राफिक जनशक्ति थप गर्ने जनाएको छ । 

१४ स्थानमा यात्रु सहायता कक्ष
ट्राफिक प्रहरीले चाडपर्वलाई लक्षित गरेर उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गर्ने भएको छ । महाशाखाले उपत्यकाका नागढुङ्गा, कलङ्की, स्वयम्भू, माछापोखरी, नयाँबसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जागती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष सञ्चालन गर्ने जनाएको छ । 

आम सर्वसाधारण तथा यात्रुलाई पाकेटमार तथा अन्य आपराधिक गतिविधि र सुरक्षासम्बन्धी सू–सुचित गर्न, स्वास्थ्य मापदण्ड पालना गर्न, टिकट तथा भाडा ठगीलगायतका यात्रुको गुनासो व्यवस्थापन गर्न, सहज यात्राको व्यवस्था यात्रु सहायता कक्षले काम गर्ने एसएसपी भट्टराईको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ