काठमाडौं । साउन महिना हिन्दूधर्माबलम्बीका लागि विशेष मानिन्छ । त्यसमा पनि भगवान शिवको पूजा आराधना गर्नेका लागि साउनको विशेष महत्व छ । साउनमा महिलाले हरियो चुरा, पोते लगाउँदा शिव खुसी हुने विश्वास गरिन्छ । साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।
साउनमा पाँच वटा सोमबार प¥यो भने त्यो अझ विशेष मानिन्छ । पाँच वटै सोमबार ब्रत बस्ने हो भने मनोकामना छिट्टै पूरा हुने धार्मिक विश्वास छ ।
पहिलो साउने सोमबार परेसंगै शिव मन्दिरमा भक्तजनको विशेष भीड लागेको छ । पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।
पशुपति दर्शनका लागि बिहान २ बजेदेखि नै भक्तजनको आगमन सुरु भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
विगतका पर्व जस्तै आज पनि दर्शनका लागि तीनतिरबाट भक्तजनको लाइन राखिएको छ । पूर्वको ढोका विशेष पूजा गर्नेका लागि पश्चिमको ढोका बोलबम यात्रीका लागि छुट्याइएको छ ।
काठमाडौं बाहिरका देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।