रोल्पा। रोल्पाका ४ वटा सरकारी कार्यालयहरु अब केही समयपछि आफ्नै भवनबाट संचालन हुने भएका छन्। पूनः निर्माण तथा पुनस्थापना कार्यक्रम अन्तर्गत लिबाङ नगरपालिकाको मूलपानीमा निर्माणाधिन अवस्थामा रहेको कार्यालय कम्प्लेकस भवनको निर्माण कार्य सम्पन्न भएपछि ती कार्यालयहरु आफ्नै भवनबाट संचालन हुने शहरी विकास तथा भवन डिभिजन कार्यालय रोल्पाका डिभिजन प्रमुख इश्वरराज जोशीले जानकारी दिए।
उनका अनुसार लामो समयदेखि घर भाडामा लिई कार्यालय संचालन गर्दै आएका कोष तथा लेखा नियन्त्रक कार्यालय, महिला तथा बालबालिका कार्यालय, जिल्ला भूसंरक्षण कार्यालय, र जिल्ला निर्वाचन कार्यालयको कम्प्लेक्स भवन निर्माण भएसंगै ती कार्यालयहरु आफ्नै भवनबाट संचालन हुनेछन्।
२०७१ साल कार्तिक ४ गते थेगीम कन्स्ट्रक्सन धनगढी कैलाली संग २०७३ कार्तिक ४ गते सम्पन्न गरिक्नु पर्ने संझौता भएको भएतापनि निर्माण कम्पनीको ढिला सुस्ती तथा बन्द हडतालका कारण निर्धारित समयमा काम सम्पन्न हुन नसकेको जोशीले बताए।
भ्याट बाहेक २ करोड ९८ लाख, २५ हजार ५ सय ६० मा संझौता भएको भवनको हाल सम्म २५ प्रतिशतमात्र भौतिक प्रगती भएको छ।
जोशीका अनुसार कार्यालयबाट निर्धारित समयभित्र काम सम्पन्न गर्नका लागि निर्माण कम्पनीलाई दबाब भइरहेको छ। करिव डेर महिना अघि बैंक जमानत रकम जफत गर्ने पत्राचार भएपछि हाल द्रुत गतिमा काम अगाडि बढिराखेको छ।
रोल्पामा पहिलो पटक ४ वटा सरकारी कार्यालयको लागि चारतले कमप्लेक्स निर्माण हुन लागेको हो। भवनसंगै, तालिम भवन, र अपांगमैत्री शार्वजनिक शौचालय पनि निर्माण हुने बताइएको छ।
सरकारी कार्यालयहरु एकिकृत रुपमा निर्माण गर्न सके सेवाग्राहीहरुलाई एकै ठाउँबाट धेरै क्षेत्रको सेवा लिन सजिलो र सरकारलाई पनि जग्गा ब्यवस्थापन गर्न सजिलो हुने जोशीको भनाइ छ।