काठमाडौं। नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले समुहको दवाव पछि पार्टी सभापति शेर बहादुर देउवाले मंगलवार विहानका लागि पार्टी केन्द्रीय समितिको वैठक बोलाएका छन्। प्रचण्डको नेतृत्वमा सरकार गठन गर्न काँग्रेस सभापति देउवाले एक्लै सहमति जनाएर पार्टीमा जानकारी मात्र गराएपछि रुष्ट बनेका पौडेल सहितका नेताहरुले केन्द्रीय समिति वैठक बोलाएर त्यस विषयमा छलफल गर्न सामुहिक रुपमा दवाव दिएपछि देउवाले मंगलवारका लागि वैठक बोलाएका हुन्। आइतवार पौडेल खेमाले सभापति शेरबहादुर देउवालाई भेटेर दवाब दिएको थियो।
यसअघी काँग्रेस नेता डा रामशरण महत निवासमा पौडेल खेमाको वैठक बसेको थियो। सो बैठकले देउवाले एकलौटी गरेको भन्दै उनलाई सचेत गराउने र केन्द्रीय समिति वैठक बोलाउन दवाव दिने निर्णय गरेको थियो। काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७३ श्रावण ४ गते मंगलबारका दिन विहान ८ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन्। केन्द्रीय समितिको वैठकमा उपस्थितिको लागि केन्द्रीय कार्यालयले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको पौडेलले जानकारी गराएका हुन्।
केन्द्रीय समितिमा खासै छलफल नगरी माओवादी केन्द्रसँग गठवन्धन गर्ने निर्णयमा पार्टीलाई पुर्याइएपछि पौडेल खेमा सक्रिय भएको हो। डा. रामशरण महत, सीतादेवी यादव, प्रकाशमान सिंह लगायतका नेताहरुले देउवालाई भेटेर नयाँ गठवन्धनबारे पार्टीमा छलफल हुनुपर्ने माग गरेका थिए। वैठक बोलाउनै चर्काचर्की भएपछि मंगलवारको वैठक कस्तो हुने भन्नेमा कौतुहलता देखिएको छ।
प्रचण्डको नेतृत्वमा सरकार बनाउने विषयलाई रामचन्द्र पौडेल खेमा बाहेक खुमबहादुर खड्का पनि खासै सन्तुष्ट हुन सकेका छैनन्। एकातिर पार्टीभित्रै असन्तुष्टहरु बढ्नु र अर्कातिर माओवादीसँगको गठवन्धन टिकाउनुपर्ने दवावमा रहेका देउवाले माओवादीसँगको सहमतिलाई पार्टीबाट अनुमोदन गराउनु पर्ने दवाव पनि रहेको छ। माओवादीसँग विश्वासको वातावरण बनाउन पनि सहमति अनुमोदन गराउन देउवा दवावमा पर्न सक्छन।
माओवादीसँगको सहकार्य अनुमोदन भएको अस्थामा सरकारमा जानेहरुको नामावली टुङगो लगाउन तथा पार्टी पदाधिकारी मनोनयन गर्न र विभागहरु तत्काल बनाउन पनि देउवा केन्द्रीय समिति वैठकमा दवावमा पर्न सक्छन्। पौडेल पक्ष पनि यसकव तयारीका साथ वैठकमा पेश हुने तयारीमा रहेको छ।
पार्टी सभापतिलाई रक्षात्मक बनाउने प्रयास भएमा उनको समर्थनमा देउवा समुहका केन्द्रीय समितिका सदस्यहरु पनि प्रस्तुत हुने तयारी बुझिएको छ। उनीहरुले विगतमा भएका अभ्यासहरुको समेत दृष्टान्त दिदै सभापति देउवाको प्रतिरक्षा गर्ने तयारी गरेका छन्। तर देउवा आरोप प्रत्यारोपको अवस्था आउन नदिएर आफू र माओवादीका अध्यक्ष प्रचण्डबीच भएको सहमतिलाई अनुमोदन गराउँदै नयाँ रणनीतिका साथ कसरी सरकार बनाउने भन्नेमा ध्यान केन्द्रित गर्ने मनस्थितमा रहेका छन्।