काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आठौं पटक आमरण अनशनरत गोविन्द केसीको अवस्थाबारे संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिले चिन्ता जनाएको छ । समिति सभापति सुशीलकुमार श्रेष्ठ नेतृत्वको संसदीय टोलीले डा. केसीलाई भेटेर खस्कँदो स्वास्थ्य अवस्थाबारे जानकारी दिई सरकारलाई जीवन रक्षाका लागि पत्राचार गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई पत्राचार गर्दै समितिले केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएकाले संविधान प्रदत्त बाँच्न पाउने अधिकारको सुनिश्चततातर्फ तत्काल आवश्यक पहल गर्न भनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफुले पत्रचार गरेर केसीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको बताउँदै सभापति श्रेष्ठले भने, ‘डा. केसीको अवस्था एक दम नाजुक भइसके छ ।
यस्तो अवस्थामा सरकारले गम्भीर हुन आवश्यक छ ।’ तपाइको पार्टी सरकारमा छ, तर सरकार गोविन्द केसीको विरुद्ध लागेको छ भन्ने सुनिन्छ ? जवाफमा सभापति श्रेष्ठले भने, ‘सरकारको कुरा गर्नु हुन्छ भने, हाम्रो पार्टीको त उपप्रधानमन्त्री सहित मन्त्रीहरु पनि छन् । तर म त्यहाँ कुनै सरकारी प्रतिनीधि भएर गएको होइन । संसदको एक भाग हामी पनि हौं ।
संसदको आधिकारीक निकायको सभापतिको हैसियतले म केसीलाई भेट्न गएको हुँ । पहिलो पहल त हामीले नै गर्नु पर्ने हो ।’ हामीबाट भएन भने संसदमा पछि कुरा उठ्ला । तर, संसद त एकै पटक ६ गते बस्दै छ ? श्रेष्ठले भने, ‘त्यसअघि सरकारले केही पहल गुर्न पर्ने परो नी । संसद बैठक कुरेर हुँदैन । संसदमा पनि त बहस हुने हो काम गर्ने त सरकारले नै हो ।’
म सभापति भएपछि मात्रै केसी तीन पटक अनसन बसे
समिति सभापति श्रेष्ठले आफु समिति सभापति भएपछि गोविन्द केसी ३ पटक आमरण अनसन बसेको र तीनै पटक आफु भेट्न गएको जानकारी गराए । उनले थपे, ‘विडम्पना उहाँलाई तीन तीन पटक सम्म खराव स्वास्थ्य भएकै समयमा भेट्नु पर्यो । तीनै पटक सरकारको ध्यानाकर्षण पनि गराइयो । तर उहाँ अनसन बस्नु नपर्ने स्थिति अझै आएन ।’ राज्य व्यवस्थाप्रति दिक्दारी पोख्दै सभापति श्रेष्ठले भने–‘उहाँसँग विगतमा भएको सम्झौताहरु तत्काल कार्यान्वयन गर्न मैले प्रधानमन्त्री ज्यूलाई भनेको छु । श्रेष्ठ सत्ताधारी राप्रपा नेपालका सांसद पनि हुन् ।