arrow

मोदीखोलाबाट क्षमताको आधा मात्रै विद्युत् उत्पादन

logo
प्रकाशित २०७३ साउन ३ सोमबार
Lallo-Modikhola-Hydropower.jpg.jpeg
फलेवास (पर्वत) । पर्वत जिल्लाको देउपुरमा सञ्चालित १४ दशमलव ८ मेगावाटको मोदीखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन थालिएको छ । खोलाको बाढी पसेपछि अवरुद्ध भएको विद्युत् उत्पादन आज बिहानदेखि सुरु भएको हो । बाढीका कारण इन्टेकभन्दा माथिल्लो भागमा समस्या आएपछि विगत पाँच दिनसम्म विद्युत् उत्पादन बन्द भएको थियो । मर्मतपछि सोमबार बिहानदेखि उत्पादन पुनः सुरु भएको आयोजना प्रमुख तारादत्त भट्टले जानकारी दिए । 
 
उत्पादन सुरु भए पनि अहिले आधा क्षमतामा मात्रै उत्पादन भएको छ । बाढीका कारण इन्टेक भन्दा माथिको भागमा क्षति पुगेको र सुरुङमा पूरै क्षमतामा पानी पठाउन नसकिएका कारण आधा मात्रै उत्पादन भएको हो । 
 
अहिले ७ मेगावाट मात्रै उत्पादन भएको मोदीखोला जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टले जानकारी दिए। उनका अनुसार बाढीले भत्काएको भाग मर्मत गरेर पानी पठाउन सुरु गरिएको छ । समस्या आएलगत्तै ठेकेदार कम्पनी र प्राधिकरणका विशेषज्ञ प्रविधिज्ञको टोली आएर मर्मत कार्यलाई अघि बढाएको थियो । अहिले एउटा टर्वाइन मात्र सञ्चालनमा आएको छ । केन्द्रका अनुसार वर्षायाममा पानीको वहाब उच्च भए पनि बाढीका कारण पूरै पानी पठाउन नसकिने भएकाले उत्पादनमा कमी आएको हो । 
 
बाढीले २५ मिटर बाँधको पर्खाल भत्किएको थियो । अब मङ्सिर, पुसबाट मात्रै यसको मर्मतको काम सुरु हुने बताइएको छ । 
 
यता तल्लो मोदी ‘ए’ मा पनि बाढीका कारण आइतबार उत्पादन पूर्णरुपमा बन्द भएको थियो । मोदीखोलामा कङ्क्रिट र लेदोसँगै आएको बाढीका कारण उत्पादन गृहमा थप समस्या नआओस् भनेर आइतबार बन्द गरिएको आयोजनाका प्राविधिक प्रकाश अधिकारीले जानकारी दिए । 
 
उनका अनुसार आज बिहानैदेखि यस आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ । अहिले तल्लो मोदीखोला ‘ए’ बाट ८ मेगावाट विद्युत् उत्पादन भइरहेको अधिकारीले जानकारी दिए। गत वर्षको साउनमा आएको बाढीका कारण झन्डै रु ३० करोडको क्षति पुर्‍याएको तल्लो मोदीखोला ‘ए’ जलविद्युत् आयोजनाबाट गत मङ्सिरदेखि मात्रै उत्पादन सुरु भएको थियो । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ