- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झापा। मेचीनगर नगरपालिका–१ का लालबहादुर मोक्तान फूल खेल्न थालेको धान बाली हेरेर मक्ख थिए । शुक्रवार दिनभर खेतमा फस्टाएको धान हेरेर खुसी हुँदै घर फर्किएका उनीले वर्ष दिन खान पुग्ने धान फल्ने अनुमान गरेका थिए ।उनको खुसी भारतीय जङ्गली हात्तीले एक दिन पनि टिक्न दिएन ।
शुक्रवार राति १० कट्ठा जमिनको धान हात्तीले खाएर र माडेर सखाप पारिदियो । उनले निराश हुँदै भने, “पाक्न लागेको बाली सखाप पारिदियो, अब के खाएर बाँच्नु ।” उनी मात्र होइन दैनिक भारतबाट हुल बाँधेर आउने हात्तीको उपद्रो बढ्न थालेपछि बाहुनडाँगीवासी चिन्तित छन् ।
उनकै छिमेकी रमेश भुजेलको १० कट्ठा, नन्द अधिकारीको पाँच कट्ठा, कैलाश भण्डारीको पाँच कट्ठा गरी डेढ बिघा जमिनको धान एकै रातमा हात्तीले खाइदिएको छ । मेची नदीमा लगाइएको विद्युतीय तारबार भत्काएर भारतीय जङ्गली हात्तीले बस्ती पसेर दैनिकजसो उपद्रो मच्चाउन थालेका छन् ।
हात्ती छेक्न विसं २०७२ मा विश्व बैङ्कको सहयोगमा राष्ट्रिय प्रकृति संरक्षण कोषले मेची नदी किनारमा १८ किलोमिटर क्षेत्रमा विद्युतीय तारबार लगाएको थियो । सोही तारबारका कारण आठ वर्षसम्म ढुक्कले निदाएका बाहुनडाँगीवासी हात्ती गाउँ पस्न थालेपछि रातभर जाग्राम बस्न थालेको स्थानीयवासी शङ्कर लुइँटेलले बताइ । “ज्यान जोगाउनै मुस्किल छ”, उनले भने, “ खै कसरी पाक्न लागेको अन्नबाली जोगाउनु अब ।”
विद्युतीय तारबारको उचित मर्मत सम्भार नहुँदा दैनिकजसो भारतीय जङ्गली हात्तीले भत्काएर नेपाल प्रवेश गर्न थालेका छन् । प्रवेश गर्ने हात्तीले मेचीनगर–१, २, ३ र ४ मा बढी दुःख दिइरहेको उनको भनाइ छ । जिल्लाका बुद्धशान्ति गाउँपालिका, भद्रपुर, कनकाई र दमक नगरपालिकामा पनि हात्तीले दुःख दिइरहेको छ । अन्नबालीमा खाइदिए वा घर भत्काएमा डिभिजन वन कार्यालयले रु १० हजार क्षतिपूर्ति दिँदै आएको छ । रकम पाउनका लागि लामो समय कुर्नुपर्ने र पटक पटक कार्यालय धाउनुपर्ने झन्झटिलो प्रक्रियाबाट दिक्क भएका हात्तीपीडितले निवेदन नै दिन छोडेको मेचीनगर–३ का स्थानीय राजीव माझीले बताए।