काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका–संसद् विघटन नहुने स्पष्ट पारेका छन् । नेपाल इन्जिनियर्स एसोसिएसनको ५४ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले भने , “खेलकुद मैदानै मासिएपछि खेल कहाँ खेल्ने, मैदान मासिँदैन ।” संसद्मा सरकारविरुद्धको अविश्वास प्रस्ताव दर्ता गरिएपछि राजीनामा माग्नाको कुनै तुक नभएको उल्लेख गर्दै उनले त्यस प्रस्तावलाई संसद्मा निर्णयार्थ पेस हुन दिइनुपर्ने बताए । उनले आफू कसैको व्याख्यानुसार नभई संविधानसम्मत अघि बढ्ने पनि स्पष्ट पारे ।
संविधान बनाउँदासम्म सरकारमा नेपाली काँग्रेसको नेतृत्व हुने र संविधान जारी भएपछि निर्वाचनसम्म नेकपा (एमाले)को नेतृत्व हुने सहमति यसअघि भएको जिकिर गर्दै उनले नेपाली काँग्रेसले संविधान जारी भएपछि सहमतिको पालना नगरेको आरोप लगाए । उनले भने , “संविधानमा सरकार हटाउने खालको व्यवस्था लेखिएको छैन ।”
प्रधानमन्त्री ओलीले आगामी निर्वाचनसम्मका लागि सत्ता गठबन्धन दलबीच सहमति भएको जानकारी गराउँदै माओवादी केन्द्रलाई कसैले उचालेको आरोप लगाए । सभामुखले संसद्को कार्यसूचीमा भएको बजेटसम्बन्धी आर्थिक विधेयकलाई कार्यसूचीबाट हटाएको र बैठक स्थगन गरेकाप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री ओलीले आफूले संयमता अपनाएका कारण परिस्थिति असहज नबनेको जिकिर गरे ।
कार्यक्रममा एसोसिएसनका अध्यक्ष ध्रुवराज थापाले इन्जिनियरले भूकम्पका बेला ‘जनतासँग इन्जिनियर’ कार्यक्रम मार्फत गरेको सामाजिक सेवा अविस्मरणीय रहेको बताउँदै इन्जिनियरिङ पेसा सरकारको प्राथमिकतामा पर्न नसकेको गुनासो गरे ।
नेपाल इन्जिनियर्स परिषद्का अध्यक्ष सत्यनारायण साह, एसोसिएसनका महासचिव किशोरकुमार झा, वरिष्ठ इ शङ्करकृष्ण मल्ल लगायतले इन्जिनियरले मुलुकको भौतिक पूर्वाधार विकासमा गरेको योगदान र सो पेसाका चुनौतीका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा उत्कृष्ट योगदान गर्ने इन्जिनियरलाई पुरस्कृत गरिएको थियो । रासस