arrow

अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा भुसालको तीन फरक मत

‘जनताको बहुदलीय जनवाद के हो ? भन्ने कुरा हामीले परिभाषित गरेका छैनौ– अहिलेसम्म ।'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १० आइतबार
ghanashyam-bhusal1.jpg
फाइल तस्विर।

काठमाडौं। नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’’माथि प्रश्न उठाएका छन्। अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटीमा पेस गरेको राजनीतिक प्रतिवेदनमाथि तीन बूँदे फरक मत राख्दै उपमहासचिव भुसालले जनताको बहुदलीय जनवाद परिभाषित नगरीकन अघि बढ्नै नसकिने तर्क समेत गरे । 

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आइतबार सम्पन्न पार्टी केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘जनताको बहुदलीय जनवाद के हो ? भन्ने कुरा हामीले परिभाषित गरेका छैनौ– अहिलेसम्म । त्यसलाई सिद्धान्तको रूपमा परिभाषित गरेका छैनौँ, अफिसियल्ली आधिकारिक रूपले । त्यसलाई व्याख्या गरेका छैनौ । यस विषयमा पनि हामी यसरी लामो समयसम्म जान सक्दैनौँ । जनताको बहुदलीय जनवादको यत्रो कुरा गरेका छौँ । तर त्यो के हो ? भन्ने कुरा नै नभनेर पनि जान सकिन्छ ? तसर्थ यो पनि हामीले परिपूर्ण गराऔँ भन्ने मेरो कुरा हो ।’

उपमहासचिव भुसालले जनताको बहुदलीय जनवाद ‘आँखा नदेख्नेले हात्ती छामेजस्तो’ हुन नहुने टिप्पणी समेत गरे । उनले थपे, ‘हामीले जनताको बहुदलीय जनवादको कुरा गरेका छौँ । त्यो चाहिँ हामी जसले जे भन्छ, त्यो आँखा नदेख्नेले हात्ती छामेजस्तो जसले जे बुझ्यो, त्यही भयो । त्यसलाई परिभाषित गरेका छैनौँ । जनताको बहुदलीय जनवादले के गर्छ ? साम्राज्यवादको विरोध गर्छ । जनताको समर्थन गर्छ, जनताको पक्ष लिन्छ । महिलाको पक्ष लिन्छ । युवाको पक्ष लिन्छ, यस्ता अनेकन् कुरा भन्न सकिन्छ । तर स्वयम् जनताको बहुदलीय जनवाद के हो ? भन्ने कुरा हामीले परिभाषित गरेका छैनौँ ।’

उपमहासचिव भुसालले कम्युनिष्ट आन्दोलनले ठुलो धक्का खानु परेको उल्लेख गर्दै हामी भित्रै रहेको कमजोरीको अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा समावेश नभएको भन्दै त्यसमा पनि फरक मत रहेको बताए । त्यसैगरी उनले समाजवादमा जाने ठोस कार्यक्रम पनि अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा उल्लेख नगरिएकोमा पनि आफ्नो असहमति रहेको स्पष्ट पारे । 

उपमहासचिव भुसालले भने, ‘हामीले छलफल गर्‍यौ । खास गरी दस्ताबेजहरूमा धेरै कुराहरू आवश्यक र उचित कुराहरू पनि छन् । तर त्यसमा चाहिँ नपुगेका केही आधारभूत कुराहरू पनि छन् भन्ने मेरो भनाई हो । मलाई लागेको त्यो हो–जुन मैले बैठकमा राखेको छु । स्थायी कमिटी बैठक र केन्द्रीय कमिटी बैठकमा पनि राखेको छु । तीन वटा कुरामा खास गरी अहिले कम्युनिष्ट आन्दोलनले जुन धक्का खाएको छ । त्यो धक्का सानोतिनो छैन । यसले गर्दाखेरि यहाँ अझ जिम्मेवारीपूर्वक त्यसलाई बस्तुगत रूपले त्यसको मूल्याङ्कन गरौँ हामीले । यसमा हाम्रै पनि के–के कमी भएका छन् ? त्यस बारेमा पनि हामीले नलुकाई दुनियाँको सामुन्ने भन्न सक्नुपर्छ । क्रान्तिकारी पार्टीले, फेरी उठ्ने, मुलुकको जिम्मेवारी बोक्ने पार्टीले कुराहरू लुकाउनु हुँदैन भनेर एउटा मुख्यकुरा मैले राखेको ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ