रोल्पा ।
गन्धर्वको कथा व्यथा सारंगीले सुन्छ
भोको पेट नांगो छाती कैले पुरा हुन्छ
बाँच्नै गाह्रो भयो हाम्लाई पिरैपीर बनी
सारंगीलाई माया गरौं नेपाली हौँ भनि
लुलसीपुर नगरपालिका –२ दाङका सुशील गन्धर्व बिरहीले र्याई- र्याई सारंगीको भाकामा यो मीठो गीत गाइरहँदा वातावरण नै संगीतमय बन्यो । बिरहीले मादल र सारंगीको धुनमा करिब दर्जन बढी गीतहरु सुनाए ।
लोक बाजाको संरक्षण र सम्वद्र्धनका लागि देशका सबै जिल्लामा संग्रहालय बनाउनुपर्छ भन्ने उद्देश्यका साथ २०७० सालमा रोल्पाको लिबाङबाट लोक बाजा संरक्षण अभियानमा जुटेका बिरहीको समूह केही दिन अघि रोल्पा आइपुगेको थियो ।
बिरहीले अभियानका क्रममा आफूहरु हाल सम्म देशका ६८ जिल्ला पुगिसकेको जानकारी दिए । आधुनिकताको नाममा पश्चिमी संस्कृतिको सिको गर्दै नेपालीहरुले आफ्नो संस्कृति र परम्परा बिर्सन लागेको भन्दै उनले दःख प्रकट गरे ।
लाहुरे बाका आगनीमा रोदी गाउथे पैले
सारंगी र डम्फू मादल ओझेल पर्यो ऐले ।
बाँकी गीतलाई बीचमै रोकेर बिरहीले भने, “सारंगी, मादल, मुर्चुङ्गा, विनायो, ट्यम्की, सनाही, झ्याम्टा आदी हाम्रा लोकबाजाहरु हुन् तर यिनको बदलामा नेपालीहरु हारमोनियम, गिटार, किबोर्ड, तवला, बिंजु र बासुरीको धुनमा रमाउन खोजिरहेका छन् । दिनप्रतिदिन देशमा लोकबाजा बजाउने मान्छेको अभाव हुँदैछ त्यसैले सरकारले लोकबाजाको संरक्षणका लागि विशेष पहल गर्नुपर्छ ।’ उनले लोक बाजा बचाइराख्न अपिल समेत गरे ।
सम्पत्तिको नाउँमा हाम्रो यही सारङ्गी बाजा
बज्नै छाड्यो भन्छन, सबले गाउँघरमा आज
आजका दिन सम्म आइपुग्दा गन्धर्वहरुले गीत गाउने पेशा छोडी अरु नै विकल्प रोजी सकेका छन् तर एकाद गन्धर्वहरु गाउँमा गीत गाउन जाँदा माग्न आएको भनि अभद्र व्यवहार गर्ने गरेको उनले गुनासो गरे ।
जनताले चासो गर्दैनन् सरकारले पनि समयमै ध्यान नदिए हाम्रो संस्कृति नै लोप हुने संभावना बढेको छ । त्यसैले यसको संरक्षण र संवद्र्धनमा राज्यले विशेष चासो दिनुपर्नेमा उनको जोड छ । नेपाली गीत मुम्बईमा रेकर्ड हुन्छ त्यहाँ पुगेर कस्ले बजाइ दिन्छ नेपाली बाजा बिरहीले चिन्ता प्रकट गरे ।
हिजो आज विवाह ब्रतबन्ध लगायत विभिन्न चाड पर्वका अवसरमा पञ्चेबाजा, नौमती बाजाको साटो विदेशी बाजागाजामा रम्ने गरिन्छ । नेपाली लोकगीत तथा लोक संगीतमा होइन पप, र्याप र आधुनिकताका नाममा उच्छृङ्खल गीतहरुमा डिस्को नाचिन्छ । यसो गर्नु पक्कै पनि राम्रो नहुने बताउँदै विरहीले पश्चिमी मनले नेपालीलाई छोइसकेकाले यो अभियानमा जुट्नै पर्ने आवश्यकता औंल्याए ।
न व्याट्री लाग्छ न चार्चर चाहिन्छ लोक बाजाका धेरै गुणहरु छन् । त्यसमा पनि सारंगीको धुनले अझ मीठास थप्ने उनको भनाइ छ । अभियानका क्रममा बिरहीसंगै कोहलपुर नगरपालिका ११ बाँकेका दिलबहादुर गन्धर्व, बुढागाउँ –३ रोल्पाका हिमकान्त गन्धर्व, मालारानी ९ सुर्खेतका सुरेश गन्धर्व, त्रिपुर नगरपालिका– ८ दाङका हेमराज गन्धर्व र त्रिपुर नगरपालिका–५ दाङका बालाराम गन्धर्व लगायतको समूह रोल्पा आइपुगेको थियो ।