arrow

एमाले प्रमुख सचेतकलाई प्रश्न: सर्वदलीय बैठकबाट किन भागेको ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १४ बिहिबार
Bishal-bhattarai-uml.jpg

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा गरेको सर्वदलीय बैठक नेकपा एमालेको उपस्थितिविना नै शुरु भएको छ । संसद्को गतिरोध अन्त्य तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न बोलाइएको सर्वदलीय बैठकमा  माधव नेपालको दल नेकपा एकीकृतका नेताहरू सहभागी हुने भएपछि एमालेले बहिष्कार गरेको हो । 

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आजको सर्वदलीय बैठकको औचित्य नभएको र त्यसले निकास दिन नसक्ने भएकाले एमालेको सहभागिता नजनाएको बताए ।आफूले हटाइसकेका १४ सांसदलाई बर्खास्त नगरेको भनेर सभामुख सापकोटाको भूमिकामाथि एमाले प्रश्न चिन्ह खडा गरेको छ ।

उनले आफूले अवैधानिक भनेको माधव नेपालसहित १४ जना सांसद तथा उनीहरूको पार्टी नेकपा एकीकृत समाजवादी सहभागी हुने भएकाले त्यस बैठकमा एमालेको सहभागिताको आवश्यक नभएको बताए । प्रमुख सचेतक विशाल भट्टराईसँग हाम्राकुराले गरेको संक्षिप्त कुराकानी:

तपाईँहरू सभामुखले बोलाएको सर्वदलीय बैठकमा नि नजाने, प्रधानमन्त्रीले बोलाएको बैठकमा नि जानु भएन, बैठकबाट किन भाग्नु भएको ?

हामी बैठकबाट भागेका छैनौँ । एमालेलाई विभाजन गर्ने दुराशय राखेर संसद् छलेर अध्यादेश ल्याएर पार्टी फुटाउने उहाँहरू, सभामुख त्यसको मतियार बन्ने, अनि हामी उहाँहरूले बोलाएका बैठकमा गइदिनु पर्ने ?, सरकार र सभामुखले पराकाष्ठाको हद गरे, त्यही भएर हामी बैठकमा गएनौँ । 

यसरी निकास निक्लिन्छ त ?

हामीले भन्दै आएका छौँ, सरकारले एकपछि अर्को असंवैधानिक काम गर्‍यो । यसलाई हामी स्विकार्न सक्दैनौँ । यस्ता बैठकले निकास दिँदैन । हामी बैठकमा पनि जाँदैनौँ । संसद् पनि चल्न दिँदैनौँ । 

के भयो भने यहाँहरू मान्न तयार त ?

पहिले सरकारले गरेका एकपछि अर्को गल्ती सच्याउनु पर्‍यो । निर्वाचन आयोगले गरेका गल्ती सच्याउनु पर्‍यो । सभामुखले कि एमालेले संसद्मा पठाएको कारबाहीको सूचना टाँस गर्नु पर्‍यो कि मार्गप्रशस्त गर्नु पर्‍यो । त्यसपछि निकास निस्किन्छ । 

सरकार र सभामुख ब्याक हुने सम्भावना छ त ?

नभए हामी पनि ब्याक हुन्नौँ । हाम्रा माग पुरा नभए संसद् चल्दैन । हामी उहाँहरूले बोलाएका बैठकमा जाँदैनौँ । 

तपाईँहरू यस्तै गरेरै बस्ने त ?

होइन हामी जनताका बीचमा जान्छौँ । जनतालाई सरकारले गरेका काम बारे बुझाउँछौँ, गलत कामको भण्डाफोर गर्छौँ। हामीले संसद् विघटन गरेर जनतामा जाने तयारी गरेकै हौँ । अब फेरी जनताकै बीचमा जान्छौँ । 

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली फेरी पनि निर्वाचन गराउन एक मत भन्ने सुनिन्छ, त्यस्तै हो ?

हामीले त यो संसद्ले निकास दिएन भनेरै निर्वाचनमा जाने भनेर संसद् विघटन गरेका हौँ । उहाँहरूले त्यसलाई गलत भन्नु भयो । अहिले उहाँहरू संसद् विघटन बदर भएपछि सरकारमा आउनु भयो । हामी बाहिर बस्यौँ । अहिले त कसरी चुनाव हुन्छ ? उहाँहरूले फेरी संसद् विघटन गर्ने ?, त्यसो त हुँदैन होला अब । हिजो अरूले गर्दा गलत अहिले आफूले गर्दा कसरी ठिक हुन्छ ?, तर हामी त जनताकै बीचमा छौँ, घरघरमा जान्छौँ । अढाई महिनामा सरकार विस्तार गर्न नसक्ने, मन्त्री छान्न नसक्ने सरकारले चुनाव गराउन सक्छ ?, यो गाह्रो छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ