- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झण्डै दुई तिहाइको समर्थन प्राप्त प्रधानमन्त्रीबाट प्रमुख प्रतिपक्षको नेता हुन नेकपा (एमाले) अध्यक्ष केपी ओलीलाई साढे तीन वर्षको समय लाग्यो । उनको यो ओरालो यात्रामा कसैको सबैभन्दा बढी भूमिका थियो भने त्यो उनको आफ्नै 'दम्भ'को थियो। जुन 'दम्भ' पछिल्लो समय पनि प्रष्टै देख्न सकिन्छ ।
अध्यक्ष ओलीको देशको शक्तिशाली प्रधानमन्त्रीबाट भएको यात्रा सुरुवात असफल प्रधानमन्त्रीमा गएर टुङ्गिएको छ। यो यात्रामा राजनीतिक कारण थोरै र उनका व्यक्तिगत कारण धेरैले भूमिका खेलेको प्रष्टै देख्न सकिन्छ । उनको दम्भ र उनका वरिपरि रहेका सल्लाहकार मानिएकाहरूको ओलीको जस्तै व्यवहार प्रमुख कारण रहेको छ।
उनकै पार्टीका नेता-कार्यकर्ताहरू पनि उनका सल्लाहकार समूहसँग आजित भएका थिए। पार्टी वा राजनीतिमा जुनसुकै पदमा रहेका हुन् वा योगदान जतिसुकै रहेको होस् उनका सल्लाहकारहरूले उनीहरूलाई गर्ने व्यवहार पचिरहेको थिएन। ओलीले प्रधानमन्त्री हुँदा बारम्बार मिडियाले सम्मान गरेन 'तिमी' भन्यो भनेर गुनासो गरिरहे तर उनी र उनको टिमले अरूलाई सम्मान दिन कहिल्यै जानेन। सम्मान माग्ने चीज होइन कमाउने कुरा हो भन्ने यथार्थबाट उनी र उनको टिम निकै टाढा रहेको थियो।
आज उनी संसद्मा कमजोर अल्पमत लिएर प्रतिपक्षी दलको नेतामा खुम्चिएका छन् । आफू नेता त भए तर नेता जस्तो उदार व्यवहार भने उनले कहिल्यै देखाएनन्। तीन वर्षअघि करिब दुई तिहाइ स्थानमा चुनाव जिताउने एकीकृत पार्टी तीन टुक्रा भएको छ । प्राविधिक रूपमा पार्टीभित्र जोडिएका नेताहरू पनि मानसिक रूपमा ओलीबाट धेरै टाढा छन् ।
ओली यो रूपमा असफल हुनुको कारण के हो ? धेरै राजनीतिक विश्लेषकको एक मत छ– ओलीको 'इगो' । जति सुकै काम नलाग्ने भए पनि ओली आफ्ना ‘दास’को संरक्षण गर्छन् । तर, आफ्नो ‘दास’ हुन नचाहने राष्ट्रिय महत्वका व्यक्ति वा संस्थालाई ओलीले शत्रुको व्यवहार गर्न पछि पर्दैनन् ।
ओलीको राजनीतिक जीवनलाई धराशायी बनाउन सबैभन्दा ठुलो योगदान यिनै ‘दास’हरूको छ । ओली आफ्नो जीवनकालमा तीन वर्ष अघिजस्तै उदाउने सम्भावना प्राय शून्य छ भनेर विश्लेषण गर्न अब राजनीति शास्त्री भइरहनु पर्दैन ।
ओलीको राजनीतिलाई डुबाउने मुख्य कारण हुन्– ७० करोड, यति, ओम्नी, वैद्य र दुगड । देशको मन्त्री रहेको व्यक्तिले कमिसन मागेको कुरा सार्वजनिक हुँदा पनि ओलीले 'आफ्नो मान्छे' भएको कारण संरक्षण गरिरहेका छन्। लोकलाज बचाउनका लागि मन्त्रीबाट राजीनामा दिन लगाएर माहौल शान्त बनाउने प्रयास गरे ओलीले।
सार्वजनिक रूपमा चर्चामा नआएका तर ओली शासनकालभर बालुवाटारको दैलो कुरेर बस्ने ‘दलाल’हरुले ओलीको राजनीतिक अनुहारमा हिलो पोतिदिएका छन् । अहिले ओलीको राजनीतिक छवि जनताको नजरमा अत्यन्तै गिर्नुको कारण यही हो ।
तर, इगोको राजनीतिबाट ओली जीवनकालमा मुक्त हुन सक्ने लक्षण देखिएको छैन। कुनै चमत्कार भएन भने ओलीले आफ्नो दम्भ छाड्ने छैनन् र यही नै उनको राजनीतिक कद घट्नुको कारण बन्नेछ भन्ने पनि लगभग निश्चित देखिएको छ ।
सरकारमा रहँदा संविधान, कानुन र सार्वजनिक मर्यादाहरूको धज्जी उडाएर उनले आफ्ना आसेपासे दलालहरूको संरक्षण गरे । दलाल पुँजीवादको विरोधको आडमा आफै दलालहरूको नेता बने । र, राष्ट्रिय पुँजीपतिहरू जो आफ्नो स्वच्छ छविलाई दाउमा राखेर उनको ‘दास’ बन्न तयार भएनन् उनीहरूमाथि जाई लागिरहे । सरकारमा रहँदा मात्रै होइन, सरकारबाट बाहिरिँदा समेत उनले यस्ता उद्यमीहरूको प्रतिष्ठामाथि दाग लगाउने कोसिस गरिरहेका छन् भलै उनको छवि यति तल गिरिसकेको छ कि अब उनका यस्ता हर्कतलाई समाजले उल्टो रूपमा बुझ्न थालेको छ ।
यस्तै हर्कत ओलीले केही दिनअघि आफ्नै पार्टीको केन्द्रीय कमिटीमा दोहोर्याएका छन् । दलाल पुँजीपतिको विरोध गरेजस्तो गरेर दलाल पुँजीपतिहरूलाई पालनपोषण गर्ने आफ्नै अध्यक्ष हुन् भन्नेमा नेकपा (एमाले)का कुनै पनि नेता कार्यकर्ता अनभिज्ञ छैनन् । तर, पनि ओलीले केन्द्रीय कमिटी बैठकमा आफ्नो अनुहारमा लगाएको मुकुण्डो फेरी उतारेका छन्, दलाल पुँजीवादको शब्दहरू मार्फत ।
उनले घुमाउँदै फिराउँदै आफूलाई उही इगोको राजनीतिमा पुर्याएका छन् र नेपालमा सबैभन्दा धेरै उद्योगहरूमा लगानी गरेर उत्पादनशील अर्थतन्त्रमा उच्च योगदान पुर्याएका उद्यमी विनोद चौधरीसम्म पुगेर । उनले प्रश्न गरेछन्– विश्वको सबैभन्दा धनीको सूचिमा रहेका तर नेपालको कर तिर्नेमा कहीँ नाम नआउनेहरू भन्दै ।
ओलीले विनोद चौधरीप्रति व्यक्तिगत इगो साध्दै केन्द्रीय कमिटीलाई नै गुमराहमा राख्न खोजेको र दलाल पुँजीवादको विश्लेषण गर्ने क्रममा सत् प्रतिशत झूटो उदाहरण पेस गरेको भन्दै केन्द्रीय सदस्यहरूले मुखामुख गरेको दृश्या बारेमा पनि बैठकका सहभागीले व्याख्या गरेका छन् ।
ओलीले चौधरीमात्र होइन अन्य पेसामा रहेका व्यक्तित्वहरूलाई पनि आफ्नो शब्द वाणको सिकार बनाइरहे प्रधानमन्त्री हुन्जेल। उनीमा पढेका मानिसहरू प्रति एक किसिमको वितृष्णा रहने गरेको पाइन्छ। उनको त्यो वितृष्णा किन भन्ने बारेमा यसै भन्न सकिने अवस्था छैन।
ओली प्रधानमन्त्री हुँदा नेपाली मिडियाका सम्पादकहरू बोलाएर निकै लामो प्रवचन दिएको कुरा मिडियाका सम्पादकहरू अहिले पनि सम्झिन्छन्। जबकि उक्त बैठक सम्पादकहरूका कुरा सुन्न भनेर बोलाइएको थियो। यस्तै विभिन्न पेसाका मानिसहरूलाई आफ्नो कुरा सुनाउन उनले धेरैलाई बोलाए बालुवाटारमा ।
यही क्रममा कोरोना महामारीका बेला औषधि विज्ञान खोप बनाउन र खोप नआएसम्म बच्ने उपायहरू बारे विश्वलाई जानकारी दिइरहेको थिए। यहिबेला प्रधानमन्त्री ओलीले संसद्मा कोरोना केही होइन बेसार पानी खाने, तातो पानी खाए ठिक हुन्छ भन्दिए। पछि यसमा थपेर उनले अम्बाको पातले कोरोना ठिक हुन्छ भन्नसम्म भ्याए।
कोरोना महामारीको बेला ओम्नी समूहले गरेको कमिसनको खेल सार्वजनिक भएको थियो। उक्त काण्डमा ओम्नीलाई पनि कुनै कारबाही नगरी त्यसै छाडेका थिए । देशका जनताको स्वास्थ्यमा त्यो पनि महामारीको बेला आर्थिक हिनामिना गर्नेलाई छुट दिनेले अरू के के गरे होलान् सजिलै अनुमान लगाउन सकिन्छ ।
यती समूहलाई सरकारी सम्पत्ति बाँडेको पनि सार्वजनिक भएकै हो । यती काण्डले त उनकै निकट मन्त्री र नेताहरूलाई पनि सार्वजनिक रूपमा बोल्न अप्ठ्यारो परेको थियो। यसरी आफ्नालाई संरक्षण गर्ने र आफ्नो लाइनको होइन भने सत्तोसराप गर्ने र सकेसम्म सक्काउन खोज्ने प्रवृत्ति हाबी हुँदै गएको थियो।
ओलीले केन्द्रीय कमिटीमा आफ्नो दलिल पेस गरेको भोलिपल्ट विनोद चौधरीले सार्वजनिक विज्ञप्तिमार्फत आफ्नो नेतृत्वमा रहेको चौधरी ग्रुपले आर्थिक वर्ष २०७७-०७८ मा १४ अर्ब २८ करोड कर तिरेको विवरण सार्वजनिक गरिदिए । विगत पाँच आर्थिक वर्षमा चौधरी ग्रुपले कम्तीमा ५२ अर्ब रूपैँया कर तिरेको विवरण पनि सार्वजनिक भयो ।
नेपालमा सबैभन्दा धेरै कर तिर्नेमा चौधरी ग्रुप रहेको पनि यसले प्रमाणित गरिदियो । नेपालमा औद्योगीकरण सङ्कटमा परेको समयमा नेपालमा औद्योगिक पार्क खोलेर एक दर्जनभन्दा धेरै उत्पादनशील उद्योगहरू नेपालमा सञ्चालन गर्ने एक मात्र उद्योगी विनोद चौधरी हुन् । उनको नवलपरासीस्थित सीजी इन्डिस्ट्रियल पार्क नेपालको मात्रै होइन, दक्षिण एसियाकै एक व्यवस्थित औद्योगिक पार्क हो । उनले पश्चिममा बर्दिया र पूर्वको सुनसरीमा समेत यस्तै औद्योगिक पार्क निर्माणलाई अगाडि बढाइसकेका छन् ।
के देशभित्र उद्योग स्थापना गरेर देशको उत्पादनशील अर्थतन्त्रलाई चलायमान बनाउने, सरकारलाई कर तिर्ने, हजारौँ रोजगारी सिर्जना गर्ने र पूर्वाधार निर्माणमा योगदान गर्नेहरू ओलीको विश्लेषणमा ‘दलाल पुँजीपति’ हुन् ?
के त्यसो भए ओली प्रधानमन्त्री रहुन्जेल बालुवाटारको दैलो कुरेर बस्ने, कोरोनाको खोप खरिदमा समेत दलाली बापतको कमिसन नपाउँदा खोप रोकेर नेपाली जनताको जीवनमाथि खेलबाड गर्ने, राष्ट्रिय सम्पदाहरू व्यक्तिगत प्रयोजनमा उपयोग गर्ने, राज्यका प्रत्येक खरिदमा दलाली बापतको कमिसन बुझ्ने र राती भागबण्डा गर्नेहरू उनको परिभाषामा राष्ट्रिय पुँजीपति हुन् ? विनोद चौधरीसँग करको हिसाब हेर्न चाहनेले त्योभन्दा पहिलो आफ्ना सेवकहरू यति, ओम्नी, दुगडहरुको कर विवरण सार्वजनिक गर्नु पर्दैन ? कि ओलीको सेवा गरेबापत उनीहरूलाई यो सबै छुट छ ?