arrow

‘जबज’लाई मदन विचारधारा भन्ने कि मदनवाद भन्ने नयाँ बहस एमालेमा सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १४ बिहिबार
uml-sun-election-logo.jpg

काठमाडौँ। नेकपा (एमाले)को विधान महाधिवेशनको पूर्व सन्ध्यामा नयाँ बहस सुरुवात भएको छ। नीति र विधि निर्माण गर्ने गरी शुक्रवारदेखि सुरु हुँ ने विधान महाधिवेशनमा जनताको बहुदलीय जनवाद‘जबज’लाई मदन विचारधारा भन्ने कि मदनवाद भन्ने नयाँ बहस सुरु भएको हो। पाँचौँ महाधिवेशनपछि कार्यनीतिको रूपमा रहेको जबजलाई एमालले २७ वर्षदेखि मूल नीतिकै रूपमा अघि सार्दै आएको छ।

शुक्रवार राजनीतिक, साङ्गठनिक र विधान संशोधनको प्रस्ताव महाधिवेशनमा प्रस्तुत हुने बताउँदै एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले जबजलाई मदनवाद वा मदन विचारधारा के  भन्ने विषयमा छलफल अघि बढेको खुलासा गरेका छन्।

माओवादीबाट एमालेमा आएका बादलले समाजवादसम्म पुग्ने मूलबाटो जनताको बहुदलीय जनवाद ‘जबज’ भएको औल्याउदै त्यसलाई छुट्टै व्याख्या गरेर अघि बढ्नुपर्ने मत रहेको बताएका हुन्। पाँचौँ महाधिवेशनबाट मदन भण्डारीले ल्याएको जबज नै अहिले समाजवादमा पुग्ने आधिकारिक लाइन भएको उनको दाबी छ।

‘पार्टीको वैचारिक लाइन जनताको बहुदलीय जनवाद व्यवहारमा लागु भएर आइसकेको, व्यवहारिक कोणबाट कार्यनीतिका रूपमा व्यवहारमा लागु भइसकेकाले अब सिद्धान्त भइसकेको छ’,स्थायी कमिटी सदस्य समेत रहेका बादलले भने। उनले पार्टीभित्र अझै सिद्धान्त कि कार्यक्रम भन्ने वैचारिक बहस भइरहेका बताउँदै जनवादी क्रान्तिपछि सिद्धान्तमा रूपान्तरण भएको दाबी समेत गरे।

‘जबज मदन भण्डारीको परिकल्पना थियो अहिले जनवादी क्रान्ति सम्पन्न भएपछि त्यो व्यवहारले नै सिद्धान्त थियो भन्ने पुष्टि भयो’, बादलले भने, ‘यो विषयमा पार्टीभित्र ‘मदनवाद’ विचारधारा भनेर जाने कि भन्ने पनि छ। कसैले यो कार्यक्रम मात्र हो सिद्धान्तको व्याख्या भएको छैन भन्ने पनि आएको छ तर पार्टीको वैचारिक लाइन भनेको जबज नै हो।’

माओवादी धारबाट एमालेमा आएका बादलले पार्टीको शीर्ष नेतृत्वमै रहेर जबजको व्याख्या गरे। उनी आगामी महाधिवेशनबाट पार्टीको उपाध्यक्ष हुने सम्भावना समेत रहेको छ। जबज आधिकारिक लाइन हो भन्दै जबजलाई अब नयाँ ढङ्गले थप संश्लेषण गर्दै अघि बढ्नुपर्ने जिकिर थियो। एमाले भित्रकै घनश्याम भुसाल लगायतका नेताले पार्टीको वैचारिक धारको राम्ररी समीक्षा नगरेको भन्दै आलोचनात्मक धारणा राखिरहेका बेला माओवादीबाट एमालेमा आएका नेता थापाले भने यसको राम्रो बचाउ मात्र गरेरन सिद्धान्त नै भइसकेकाले समाजवादमा पुग्ने उत्तम उपाय समेत भएको दाबी गरे।

उनले विधान महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीले ल्याएको राजनीतिक प्रतिवेदनले पार्टीको वैचारिक विषय निरूपण गरेको पनि बताए। ‘जनवादी क्रान्तिपछि पनि के हुने भन्ने कुरा जबजले भनेको छ’, उनले भने ‘मासान्तवादको अवशेषको अन्त्य, अर्को राष्ट्रिय पुँजीको निर्माण र समाजवादी सङ्क्रमणकालीन योजना छ। यो विषय महाधिवेशनको प्रतिवेदनमा पनि आएको छ।

यो सान्दर्भिक छ र वैचारिक रूपमा पनि निरूपण गरेको छ।’ महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत रहेका बादलका अनुसार राजनीतिक प्रतिवेदनमा संसद् विघटनको कदम सही रहेको प्रस्ताव प्रस्तुत हुँदै छ। केन्द्रीय कमिटीले संसद् विघटनको कदमलाई सही कदमको रूपमा निश्चित गरेको छ। ‘कतिपय भिन्न मत पनि छन्। संसद् विघटनको कदम बेठिक थियो, लोकतन्त्र विरोधी, संविधान विरोधी थियो भन्ने पनि निश्चित रूपमा छन्,’ उनले भने। 

एमालेको केन्द्रीय कमिटी बैठकमा उपमहासचिव घनश्याम भुसालले संसद् विघटनको कदमलाई गैर संवैधानिक भएको बताएका थिए। एमालेमा तत्कालीन अवस्थामा माधवकुमार नेपालको साथमा रहेका १० स्थायी कमिटी सदस्यले संसद् घिटनको विरोध गरेका थिए। उनीहरूले विघटनबारे समीक्षा हुनुपर्ने बताउँदै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ