arrow

चाडपर्व मनाउन प्रशासन र सुरक्षा निकायको भरपर्दो आश्वासन, ‘ढुक्कसँग मनाउनुहोस्, सुरक्षा हामी दिन्छौं’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १८ सोमबार
valley-cdos.jpg

काठमाडौं  । नेपालीहरुको महान् पर्व बडादशैं, तिहार तथा छठ लगायतका पर्वहरु ढुक्कसँग मनाउन उपत्यकाका तीनै जिल्लाका जिल्ला प्रमुखसहित सुरक्षा निकायहरुले आम सर्वसाधारणलाई आग्रह गरेका छन् ।

चाडपर्व नजिकिँदै गर्दा सर्वसाधारणहरु ठगिने र असुरक्षित हुने हुँदा सोही विषयलाई मध्यनजर गर्दै तराई विकास तथा सञ्चार केन्द्र नेपालले गरेको ‘‘बजार अनुमगन र शान्ति सुरक्षाको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा तीनै जिल्लाका प्रशासन प्रमुख र सुरक्षा निकायका अधिकारीहरुले नागरिकलाई भरपर्दो आश्वासन दिएका हुन् । 

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोविन्द रिजालले प्रशासन कार्यालयले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर अगाडि बढेको जानकारी गराए । चाडपर्वको बेला सर्वसाधारणहरु ठगिने र असुरक्षित महसुस गर्ने हुँदा त्यस्ता आपराधिक कार्यलाई नियन्त्रण गर्नका लागि सुरक्षा योजना बनाएकोले सर्वसाधारणहरुले सुरक्षाको अनुभूति गर्न सक्ने उनले जिकिर गरे । 

चाडपर्वको बेला आवत जावत गर्ने यात्रुहरुको संख्या बढ्ने हुँदा उनीहरुलाई ठगिने अवस्था आएमा वा कुनै समस्यामा परेमा उनीहरुलाई लक्षित हेल्पडेस्कको व्यवस्था गरेको रिजालले जानकारी गराए । 

उनले भने, ‘नयाँ बसपार्क, कोटेश्वर, बल्खु लगायतका ठाउँहरुमा हेल्पडेस्क राखिएको छ भने कोभिड लक्षित सुरक्षा योजना लागू गराउनका लागि ट्राफिक प्रहरीलाई सक्रिय बनाइएको छ ।’

उनले चाडपर्वको बेला आर्थिक अपराधलगायत विभिन्न अपराधिक घटनाहरु हुने भएकाले काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी गराउँदै त्यस्ता कार्यहरु रोक्न प्रहरीलाई सक्रिय रुपमा परिचालन गरिएको बताए । 

उनले भने, ‘हामीले प्रहरी वृत्तहरुबाट समेत घरदैलो कार्यक्रम गरी सबै ठाउँको वस्तुस्थितिको जानकारी लिइरहेका छौं, आपराधिक कार्य भएको पाइएमा तुरुन्त कारबाही गछौं ।’

त्यसैगरी उनले काठमाडौंका हरेक ठाउँहरुमा सादा पोशाकमा प्रहरी परिचालन गरिएको जानकारी गराए । उनले उपत्यकाको सुरक्षा व्यवस्थालाई सशक्त बनाउनका लागि काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायहरुबीच समन्वय गरिएको जानकारी गराए । 

चाडपर्वमा उपभोक्ता हित विपरितका कार्यहरु समेत बढ्ने भन्दै उनले उपभोक्ता हित संरक्षणका लागि सञ्चालित भएका सबै सरकारी तथा गैरसकारीसँग समन्वय हुनुपर्नेमा जोड दिए । 

उनले स्थानीय पालिकाहरुले २०७२ सालको संविधानबाट प्राप्त अधिकारको प्रयोग गर्दै बजार अनुगमनका कार्यलाई तीव्रता दिनका लागि सुझावसमेत दिए । 

ललितपुरका प्रजिअ घनश्याम उपाध्यायले यस चाडपर्वको बेलामा हुने अनुगमन लागायतका बिषयमा उपभोक्ता मंच नागरिक समाज लगायतले मात्र आवाज उठाउने गरेकामा सञ्चार केन्द्र जस्तो सञ्चार क्षेत्रको संस्थाले आवाज उठाएर अन्तर्किया आयोजना गरेकोमा धन्यवाद दिए । 

उनले ललितपुर प्रशासनले चाडवाडमा मात्र नभएर सधै शान्ति सुरक्षाको ब्यबस्थापन गर्दै आएको दाबी गरे । उनले अहिले प्रत्यक्ष अनुगमन संघीय कानूनले स्थानीय तहलाई जिम्मा दिएको अवस्थामा समेत प्रशासनले स्थानीय निकायसँग समन्वयबाट तथा अन्य कानूनसँग तालमेल गरेर अनुगमनको कार्यलाई तिब्रता दिएको बताए । साथै उनले ललितपुरवासीलाई ढुक्कसँग चाडपर्व मनाउन आग्रहसमेत गरे । 

त्यसैगरी भक्तपुरकी सीडीओ रुद्रादेवी शर्माले भक्तपुर जिल्लामा चोरी, ठगी लगायत लागुऔषध दुर्व्यसनी, महिला हिंसा, करणी लगायतका गलत कार्यहरु भएको जानकारी गराइन् । यस्ता घटनाहरुलाई नियन्त्रण तथा न्यूनीकरणका लागि प्रहरी परिचालनलाई तीव्रता दिएको बताइन् । 

उनले नेपालीहरुको महान् पर्व लक्षित सुरक्षा योजनासमेत अगाडि बढाएको जानकारी गराइन् । भाटभटेनीलाई शनिबारमात्र बढी मूल्यमा चिनी बिक्री गरेको पाइएकाले ५० हजार रुपैयाँ जरिवाना तिराएको जानकारी दिइन् । 

उनले चाडपर्वको समयमा सार्वजनिक सवारीमा महिलामाथि हुने हिंसाजन्य घटनालाई पनि निराकरण गर्न प्रहरी परिचालन गरिएको जानकारी दिइन् । 

कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतले चाडपर्वमा आम मानिसको शान्ति सुरक्षा र उपभोक्ता हित संरक्षणका लागि प्रधानमन्त्री कार्यालयले विभिन्न निर्णयहरु गरी सम्बन्धित सबै मन्त्रालय, विभाग र कार्यालयहरुलाई निर्देशन दिएको बताए । 

बाणिज्य तथा उपभोक्ता हकहित संरक्षण बिभागका निमित्त महानिर्देशक शिवराज सेढाईले बिभागले अनुगमनको कार्यलाई वर्षभरीनै गर्दै आएकोमा चाडपर्वको बेला थप जनशक्ति व्यवस्थापन गरी अनुगमनकार्य सक्रियताका साथ अगाडि बढाएको जानकारी दिए । 

कार्यक्रममा उपत्यका प्रहरी परिसरका प्रवक्ता एसएसपी सुशीलसिंह राठौरले चाडपर्व लक्षित विशेष सुरक्षा योजना तर्जुमा परेको बताए । 

चाडपर्व नजिकिँदै गर्दा आर्थिक अपराध, मादक पदार्थ सेवन, लागुऔषधको प्रयोग, ट्राफिक नियमको उल्लंघन, कालाबजारी जस्ता आपराधिक घटनाहरु हुने भएकाले त्यस्ता आपराधिक घटनाहरु न्यूनीकरण गर्नका लागि सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाएको जिकिर गरे । 

कार्यक्रममा बोल्दै उनले भने, ‘चाडपर्वको बेला थप ४ हजार ५०० जना प्रहरी परिचालन गरिएको छ । मोबाइल र एसएनएसको प्रयोग गरिएको छ । सादा पोशाकमा प्रहरी खटाइएको छ । गस्ती बढाइएको छ । हेल्प डेस्क राखिएको छ भने मापसे चेकिङ्गलाई तीव्रता दिइएको छ । आशा छ हाम्रो प्रयासका कारण शान्ति सुरक्षामा अमन चयन हुनेछ ।’

उनले आपराधिक घटना हुने बित्तिकै उपत्यकाका जुनसुकै स्थानमा १० मिनेटमा प्रहरी पुग्ने गरी व्यवस्था मिलाइएको बताए । उनले भने, ‘कुनै पनि सर्वसाधारण समस्यामा पर्नुभयो भने नेपाल प्रहरीको हटलाइन १०० मा सम्पर्क गर्नुहोस् ।’

उनले यात्राको क्रममा महिला तथा बालबालिकाहरुले यौनजन्य हिंसा घट्ने गरेको प्रसङ्गमा बोल्दै भने, ‘महिला तथा बालबालिकाहरुलाई यौनहिंसा लगायतका दुर्व्यवहारबाट जोगाउनका लागि सुरक्षा व्यवस्था मिलाइएको छ, ढुक्क भएर यात्रा गर्नुहोस्, चाडपर्व मनाउनुहोस् ।’

कार्यक्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका उपनिर्देशक शिवराज सेँढाईले उपभोक्ताको हित संरक्षणमा विभाग सक्रिय भएर लागेको दाबी गरे । 

उनले विभागले चाडपर्वको बेला हुने कालाबजारी र मूल्यबृद्धि नियन्त्रणका लागि अनुगमनलाई तिव्रता दिएको र गल्ती गर्नेलाई कानून अनुसारको कारबाही गरिएको जानकारी गराए । 

नेपाल आयल निगमका उपकार्यकारी निर्देशक सुशिल भट्टराईले अन्तर्राष्ट्रिय बजारमा तेलको माग बढ्दो मूल्यबृद्धि भएको जानकारी गराए ।

पछिल्लो समय विश्व बजारमै तेलको मूल्यबृद्धि भएको छ विश्व बजारमा मूल्यबृद्धि हुँदा नेपाल आयल निगमले भने बजारमा घाटा खाएर तेलको आपूर्ति गरेको दाबी उनको छ । 

‘आयल निगमलाई मासिक ३ अर्ब घाटा रहेको छ । सो घाटा हामीले मूल्य स्थिरिकरण कोषबाट पूर्ति गरिरहेका छौँ’, उनले भने, ‘छिट्टै मूल्य समायोजन नभएमा कोषमा भएको १२–१३ अर्ब सकिने छ ।’

उनले आयल निगमले घाटा नै खाएर भएपनि बजारमा गुणस्तरीय तेलको आपूर्ति भने गरिरहेको जिकिर गरे । कार्यक्रममा उपभोक्तावादी नेता प्रेमलाल महर्जनले स्थानीय सरकारहरुले २०७२ को संविधानले नै व्यवस्था गरेको अधिकार अनुसार उपभोक्ता हित संरक्षणसम्बन्धी कार्य गर्न नसकेको बताए । 

तराई विकास तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्द प्रसाद चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय सरकारहरुले समेत उपभोक्ताको अधिकारलाई पहिलो प्राथमिकता राख्नुपर्ने भए पनि जनप्रतिनिधिहरुबाट उपभोक्ताको हितमा कुनै काम हुन नसकेकोमा चिन्ता व्यक्त गरे  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ