काठमाडौं । नेपाल चिकित्सक संघका अध्यक्ष डा. अञ्जनीकुमार झाले गत असार २६ गतेदेखि आमरण अनसनरत शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ चिकित्सक गोविन्द केसीका माग सरकारले पूरा नगरी सुखै नपाउने बताएका छन् ।
हाम्राकुरासंगको कुराकानीमा डा. झाले सरकारले पटक पटक गरेका सहमति लत्याएको भन्दै यसले सिंगो मुलुकलाई नै असर गरेको बताए ।
सरकार कहिल्यै पनि चिकित्साक्षेत्रका बारेमा गम्भीर नभएको भन्दै डा. झाले अगाडि भने ‘हामी स्पष्ट छौं स्वास्थ्य मन्त्रालय र सरकारसंग भएका सहमति पालना गर्नुपर्छ हैन भने कडा आन्दोलन गर्न तयार छौं ।’
उनले आमरण अनसनरत प्रा.डा. गोविन्द केसी आठौं पटक आमरण अनसन बसेको पनि ११ दिन भइसक्दासमेत सरकारका कुनै पनि प्रतिनिधि अनसनस्थल नपुग्नु नालायकीपनमात्र हो भने ।
डा. केसीका मागबारे छलफल गरी अगाडि बढ्न चिकित्सक संघले प्रा.डा. केदारभक्त माथेमा र डा. भगवान कोइरालाको प्रतिवदेन एकै ठाउँमा राखेर समीक्षा भइरहेको पनि बताए ।
डा. झाले भने –‘हामीले सोमबार र मंगलबार माथेमा र कोइरालाको प्रतिवेदन राखेर छलफल गरेका छौं, बुधबार पनि यसबारे समीक्षा गरेर एउटा निक्र्योलका साथ अगाडि बढ्छौं ।’
डा. झाले आफूहरूको लडाइँ अख्तियार प्रमुख वा कुनै व्यक्तिसंग नभएकाले त्यसबारेमा चासो नदिने तर काठमाडौं विश्वविद्यालयमा भएको हस्तक्षेपको भने छानबिन गरी कार्वाही हुनुपर्नेमा जोड दिएका छन् ।
‘त्यहाँ के भएको हो त्यसको सत्यतथ्य कुरा बाहरि आउनुपर्छ’ उनले अगाडि थपे ‘विकृति बढ्ने यसै गरी हो ।’
डा. भोला रिजालले फैलाउँदै हिंडेको डा. केसीको आमरण अनसनको विरोधलाई भने डा. झाले सामान्य रुपमा लिएको बताए ।
उनले भने –‘सरकार चुप लागेर बस्छ र माग संवोधन गर्दैन भने त त्यसमा विषयलाई दायाँबायाँ मोड्न खोज्ने प्रयत्न भइरहन्छन् नि ।’ डा. रिजालले पनि आफ्नो गुनासो पोख्न पाउनु पर्ने भन्दै सरकार स्पष्ट रूपमा अगाडि बढ्न नसकेको डा. झाको भनाइ छ ।
डा. झाले भने ‘समस्या राख्न पाइन्छ तर उश्रृंखल हुन पाइँदैन ।’ सरकारप्रति रीस पोख्दै चिकित्सक संघका अध्यक्ष झाले भने ‘सरकार निकम्मा भयो, आफै गरेको निर्णयसमेत पालना गर्दैन ।’