arrow

सभामुख घर्ती प्रचण्ड, देउवा र राष्ट्रपतिको निवास किन पुगिन् ?

logo
प्रकाशित २०७३ साउन ५ बुधबार
ghirti-ra-dahal.jpg.jpeg
काठमाडौं । नयाँ सरकार गठनको प्रयासपछि उत्पन्न राजनीतिक परिस्थितिले सदन अन्योलमा परेपछि सभामुख ओनसरी घर्तीले राजनीतिक भेटघाटलाई तीब्रता दिएकी छन् । उनले बिहान मात्रै सत्ता परिवर्तनको पक्षमा रहेका दुई शीर्ष दलका प्रमुख नेतालाई भेटेकी छन् । उनले राजनीतिक दलका नेताहरुलाई सहमतिको वातावरण बनाउन आग्रह गरिन् ।  
 
सुरुमा बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेकी सभामुख घर्तीले लगत्तै बुढानीलकण्ठ पुगेर कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेकी छन् । भेटका क्रममा उनले सदन चलाउन देखिएको समस्या र आवश्यक राजनीतिक सहमतिका लागि आग्रह गरेकी छन् । 
 
दलका नेताहरुले आफुहरुले सहमतिको प्रयास जारी राखेको र सदनमा पहिले अविश्वास प्रस्ताव प्रवेश गराउने वा नियमित अधिवेशनका विषयहरुलाई नै अघि बढाउने भन्नेबारे सहमति जुट्ने विश्वास गरेका छन् । यद्यपि, केही दिन अघि सत्ताधारी तथा विपक्षी तीन शीर्ष नेताको बैठक आ–आफ्नो अडानकै कारण अनिर्णित बनेको थियो । 
 
दौडधुप किन 
विहिबार बस्ने संसद बैठकमा सत्ताधारी एमाले नियमित अधिवेशनले कार्यसूचीमा राखेका विनियोजन विधेयकका आश्रीत ३ वटा विधेयक पहिले पास हुनु पर्ने अडान राखेको छ । विपक्षी कांग्रेस र माओवादी केन्द्रले आफुहरुले सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिसकेको र पहिले सोही विषयमा छलफल हुने सूचना भइसकेकाले अन्य विषय सुरुमा छलफलमा नआउने बताइरहेका छन् । शीर्ष दलहरुनै विभाजित भएपछि राजनीतिक सहमति जुटाउन भन्दै सभामुखले दौडधुप सुरु गरेको प्रेस सल्लाहकार वविन शर्माले जानकारी दिए । 
 
सभामुख घर्तीले राजनीतिक सहमति भएर दलहरुले जुन विषय अघि बढाउन भन्छन् सोही अनुसार गर्ने बताएकी छन् । यद्यपि, दलहरुबीच सहमति नभए यसअघि सूचना भए अनुसार अविश्वास प्रस्ताव नै सभामुखले अघि बढाउने सल्लाहकार शर्माले बताए। अनि सभामुखले कार्यसूचीमा रहेका विषय किन हटाउनु भा त ? जवाफमा उनले भने, ‘सभामुखले विगतमा भएकै अभ्यास र नियमानुसार नै अविश्वास प्रस्ताव सारेर सूचना गर्नु भएको हो ।’ अहिलेको दौडधुप पनि उहाँहरुबीच सहमति होस् भन्ने हो । गर्नु भएन भने उहाँले सूचना गरे अनुसार नै हुन्छ । कसैले गाली गरेर, आरोप लगाएर केही हुने वाला छैन । 
 
राष्ट्रपतिसंग पनि भेट 
शीर्ष दुई नेतालाई भेटेर सभामुख शीतलनिवास हानिएकी छन् । उनले वर्तमान राजनीतिक अवस्था र संसदमा भइरहेको काम कारबाहीबारे राष्ट्रपतिलाई जानकारी गराएकी छन् । साथै उनले राष्ट्रपतिलाई राजनीतिक सहमतिको आह्वानका लागि समेत आग्रह गरेकी छन् । यसअघि मंगलबार मात्रै सभामुख घर्तीले सत्ताधारी एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग भेट गरेकी थिइन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ