arrow

कैलालीमा बजार अनुगमन नहुँदा उपभोक्ता मारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २२ शुक्रबार
Kailali-hamrakura.jpg.jpeg

कैलाली। जिल्लामा सरोकारवालाहरूले बजार अनुगमनमा चासो नदिँदा उपभोक्ता मारमा परेका छन् । बजारमा गैर कानुनी रूपमा औषधि, खाद्य तथा पेय पदार्थ जस्ता वस्तु बिक्री हुने गरेको तर बजार अनुगमन निर्देशिकामा नियमित अनुगमन गरिने व्यवस्था उल्लेख गरिए पनि प्रभावकारी भने हुन नसकेकोले आम उपभोक्ताहरू मारमा परेका हुन् ।

यतिबेला अनुगमनको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई भए पनि अनुगमन नभएको राष्ट्रिय उपभोक्ता संरक्षण मञ्च कैलाली संयोजक हरि रेग्मीले बताए । उनले बजारमा म्याद गुज्रिएको सामान उल्लेख्य परिमाणमा भए पनि अनुगमन नहुँदा उपभोक्ता ठगिँदै आइरहेको दाबी गरे ।

संयोजक रेग्मीले भने, ‘१२ महिना अनुगमन नै नगर्ने तर अहिले चाडबाडको बेलामा मात्रै केन्द्रित गरेर अनुगमन गर्नाले व्यवसायीहरू पनि त्यसलाई पोजेटिभ रूपमा लिँदैनन्, अनुगमन नियमित गरौँ, चाडबाडमा अझ बढी गरौँ, अहिले बजारमा मूल्य वृद्धि आकासिएको छ, मनोमानी ढङ्गले कपडा, दैनिक खाद्य सामग्रीहरूको मूल्य बढेको छ, बजारमा म्याद नाघेका धेरै परिमाणमा सामग्रीहरू पाइन्छन्, २-३ वर्षअघि राम्रोसँग दैनिक जसो अनुगमन हुन्थ्यो, अखाद्य वस्तुहरू कम आउँथे, अहिले अनुगमन भएको छैन, अखाद्य वस्तुहरू पनि छ्यापछ्याप्ती भेटिन्छन्, कोभिडको बहाना बनाएर पन्छिन खोजेका छन्, सरोकारवाला निकायहरू, तर कोरोनाको जोखिम भयो भन्दैमा आम उपभोक्ताहरूलाई अखाद्य सामग्री र गुणस्तरहीन सामग्री खुवाउनु त भएन नि ? क्रमिक रूपमा प्रभावकारी रूपले अनुगमन हुन सकेको छैन ।’

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले दसैँ, तिहार र छठ जस्ता महान् चाडहरूमा खपत र माग बढ्ने भएकोले बजारमा विभिन्न सामग्रीहरूको मूल्यवृद्धि हुन सक्ने बताए । उनले यसलाई ध्यानमा राखेर संयुक्त अनुगमन टोली बनाएर बजार अनुगमन गरिरहेको बताए छन् । उनले कैलालीमा श्रावणमा १३, भाद्रमा २५ र असोज महिनामा आजसम्म १२ वटा पसलहरूमा अनुगमन गरेको बताए। उनले २ वटा पसलहरूमा भने एउटामा १० हजार रुपैयाँ र अर्कोमा २० हजार रुपैयाँ जरिबाना समेत गरेको बताए । सूचना अधिकारी जोशीले अनुगमनका क्रममा ४ वटा पसलहरूमा १७ हजार भन्दा बढीको म्याद सकिएको सामग्रीहरू पाइएकोले तत्काल फिर्ता गर्न लगाइएको पनि जानकारी दिएका छन् ।

सूचना अधिकारी जोशीले भने, ‘गत वर्ष पनि यसरी नै अनुगमन गरेका थियौँ, अहिले पनि दसैँ, तिहार, छठ जस्ता महान् चाडहरूमा माग र खपत बढी हुन्छ, बजारमा कालो बजारी र मूल्य वृद्धि हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै संयुक्त टोली गठन गरी अनुगमन गरेका छौँ, श्रावण महिनामा १३, भाद्रमा २५ र असोजमा अहिलेको मितिसम्म १२ वटा पसलहरूमा अनुगमन गरेका छौँ, हामीले २ वटा पसलहरूमा एउटामा १० र अर्कोमा २० हजार जरिबाना पनि गरेका छौँ, ४ पसलमा १७ हजार भन्दा बढीको म्याद सकिएको सामान पाइएकाले तत्काल फिर्ता गर्न लगाएका छौँ, यो पनि एउटा कारबाही नै हो, अब कारबाही गरेर मात्रै हुँदैन, उपभोक्ताहरू सचेत हुनुपर्छ र व्यापारीहरू इमानदार हुनुपर्छ ।’

उपभोक्ता हित संरक्षण शाखा धनगढी उपमहानगरपालिकाका संयोजक योगेन्द्रबहादुर चन्दले स्थानीय तहहरूले बजार अनुगमन निर्देशिका बनाएर संयुक्त रूपमा अनुगमन गरिरहेको बताए । उनले वस्तु वा सेवा प्रदायक व्यवसायको दर्ता, नवीकरण, आपूर्ति, मूल्य, नापतौल, विज्ञापनलगायत व्यापारिक क्रियाकलापको नियमित तथा आकस्मिक अनुगमन गर्न अनुगमन टोली गठन गरेर अव्यवस्थित पसलहरुलाई व्यवस्थापन गरेको पनि बताए ।

उनले भने, ‘स्थानीय तहले यो भन्दा पहिला संयुक्त टोली भनेर अनुगमन गरेको थियो, त्यो भन्दा पहिला एक्लै पनि जान्थ्यौँ, तर व्यवसायीहरूलाई दुःख हुने भएकोले सबै एकै पटक संयुक्त टोली बनाएर गएका हौँ, हामीले नगर प्रहरी खटाएर पनि अनुगमन गरिरहेका छौँ, अव्यवस्थित पसलहरूलाई व्यवस्थित बनाएका छौँ, मूल्य सूची बढाउने र म्याद गुज्रिएका सामग्रीहरूलाई तत्काल फिर्ता गर्न भनेका छौँ, नयाँ व्यापारीहरू देखिएकोले पहिलो पटक चेतावनी दिएका छौँ ।’

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले अव दैनिकरुपमा बजार अनुगमन गरिने बताए । उनले यसभन्दाअघि हप्तामा तीन-चार पटकमात्र बजार अनुगमन गरेको तर अब चाडपर्वमा हुन सक्ने अनैतिक गतिविधिलाई नियन्त्रण गर्न दैनिक बजार अनुगमन गरिने बताए। उनले भारतबाट नेपाल भित्रिने नाका भएको र कोरोनाको जोखिम कायमै रहेको भन्दै व्यवसायी तथा आम नागरिकहरूलाई स्वास्थ्यका मापदण्डको पालना गर्न सुझाव दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी रिजालले भन्नुभयो, ‘आजदेखि दैनिक अनुगमनको व्यवस्था मिलाएका छौँ,  हिजोसम्म हप्तामा तीन-चार पटकमात्र बजार अनुगमन गरेका थियौँ, म सबैलाई बजारमा अखाद्य वस्तुहरू पाइए तत्काल जिल्ला प्रशासन कार्यालयलाई खबर गर्नुहोस्, नेपालीहरू भारतबाट भित्रिनेको सङ्ख्या धेरै छ, कोरोनाको जोखिम त्यत्तिकै कायम रहेकोले व्यवसायी तथा आम नागरिकहरूलाई स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न अनुरोध गर्दछु ।’

स्थानीय तह, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन, घरेलु तथा साना उद्योग विकास समिति, कर कार्यालय, जिल्ला प्रशासन, वाणिज्य सङ्घलगायत पछिल्लो समय अनुगमन कार्यमा मौन रहेको उपभोक्ताहरूको गुनासो छ । धनगढी बजार क्षेत्रमा खाद्यान्नमा अखाद्य वस्तु मिसावट हुने गरेको, दालमा ढुङ्गा, तिलमा कनिकालाई रङ्गाएर मिसिएको, मिति नाघेका प्याकेटका खानेकुरा तथा चिसो पेय पदार्थ अत्यधिक पाइने गरे पनि सम्बन्धित पक्षले चासो नदिएको स्थानीयको गुनासो छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ