arrow

अष्ट चिरञ्जीवी मानिएका परशुराम कहाँ छन् ?

logo
महाभारत,
प्रकाशित २०७८ असोज ३१ आइतबार
parsuram.jpg

काठमाडौँ । भगवान् विष्णुको छैटौँ 'आवेश अवतार' को रूपमा भगवान् परशुरामको जन्म भगवान् श्रीराम भन्दा पहिले भएको थियो । श्रीराम सातौँ अवतार हुनुहुन्थ्यो। महाभारतको वन पर्वका अनुसार त्रेता युगमा रावणको वध गर्नको लागि भगवान् विष्णुले श्रीरामको रूपमा जन्म लिनुभयो । जब श्रीरामको प्रभाव र शक्तिहरूको बारेमा भगवान् परशुरामले सुन्नुभयो । तब उहाँ भित्र श्रीरामको परीक्षा लिने उत्सुकता जाग्यो र अयोध्या जानुभयो।

त्यहाँ उहाँले श्रीरामलाई आफ्नो दिव्य धनुषमा प्रत्यञ्चा चढाउनलाई भन्नुभयो । क्षण भरमै श्रीरामले यो काम गरेर देखाउनुभयो । यो देखेर अहङ्कारले भरिएका परशुरामले श्रीरामलाई त्यस धनुषबाट बाण चलाएर देखाउन भन्नुभयो ।

परशुरामको अहङ्कारलाई तोड्नको लागि श्रीरामले त्यस धनुषबाट यस्तो बाण चलाउनुभयो जुन परशुरामको शक्तिहरूलाई हरेर पुनः उहाँ भएको ठाउँमा आयो । यो देखेर परशुरामले बुझ्नुभयो श्रीराम भगवान् विष्णुका अवतार हुन् ।

एक वर्षसम्म तेजहीन रहेपछि भगवान् परशुरामको सबै घमन्ड चूर भयो । आफ्ना पितृहरूले सुझाव अनुसार वसुधरा नामको नदीमा स्नान गरेपछि उहाँले फेरी आफ्नो शक्तिहरू फिर्ता पाउनुभएको थियो ।

भगवान् परशुराम सम्पूर्ण हिन्दु समाजको आदर्श मानिनुहुन्छ । उहाँ चिरञ्जीवी भएको बताइन्छ। उहाँ रामको कालमा पनि हुनुहुन्थ्यो र कृष्णको कालमा पनि । उहाँले भगवान् श्रीकृष्णलाई सुदर्शन चक्र उपलब्ध गराउनुभएको थियो । भनिन्छ उहाँ कलिको अन्तमा पनि उपस्थित हुनुहुनेछ । उहाँ कल्पको अन्तसम्म धरतीमा तपस्यारत रहनुहुनेछ । पौराणिक कथामा वर्णन गरिए अनुसार महेन्द्र गिरि पर्वत भगवान् परशुरामको तप गर्ने स्थान थियो र अन्ततः उहाँ त्यसै पर्वतमा कल्पान्तसम्म तपस्यारत हुन जानुभयो ।

सत्ययुगमा एक पटक भगवान् गणेशले परशुरामलाई भगवान् शिवको दर्शनबाट रोक्नुभयो । तब रुष्ट परशुरामले उहाँ माथि परशु प्रहार गर्नुभयो, जसबाट गणेशको दाँत नष्ट भयो र उहाँ एकदन्त कहलिनुभयो। परशुरामले त्रेता युगमा जनक, दशरथ आदि राजाहरूको समुचित सम्मान गर्नुभयो । सीता स्वयंवरमा श्रीरामको अभिनन्दन गर्नुभयो ।
 
द्वापरमा उहाँले कौरव-सभामा कृष्णलाई समर्थन गर्नुभयो र यसभन्दा पहिले उहाँले श्रीकृष्णलाई सुदर्शन चक्र उपलब्ध गराउनुभएको थियो । द्वापरमा उहाँले झुटो बोलेर विद्या हासिल गरेका कर्णलाई दण्ड स्वरूप सबै विद्या विस्मृत हुने श्राप दिनुभयो । उहाँले भीष्म, द्रोण र कर्णलाई शस्त्र विद्या प्रदान गर्नुभएको थियो ।



नयाँ