arrow

नेविसंघको विधिवत महाधिवेशनका लागि आमरण अनसनको तयारी

logo
बाबु नेपाली,
प्रकाशित २०७३ साउन ७ शुक्रबार
kundan-kafle.jpg.jpeg
काठमाडौं । नेपालको सबैभन्दा ठूलो, सबैभन्दा पुरानो, सबैभन्दा प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघको महाधिवेशन भएको एक दशक बितिसकेको छ । यसपटक जसरी पनि महाधिवेशन गर्ने भनेर पार्टीको सभापति भएपछि शेरबहादुर देउवाले पनि भनेका थिए । सोही अनुसार यही साउन २३ देखि २५ गतेसम्म काठमाडौंमा महाधिवेशन हुने तय भएको छ । तर विधिसम्मत महाधिवेशन नहुने देखेर जीत शेरचनसहितका नेविसंघका नेताहरू आमरण अनसन बस्ने तयारी गर्दैछन् । 
 
नेविसंघमा चार वर्षअघि रंजित कर्णको नेतृत्वमा तत्कालीन सभापति सुशील कोइरालाले चुनावी तदर्थ समिति गठन गरेका थिए । अहिलेसम्म त्यही समिति कायमै छ । तर उपलब्धी हुन सकेको छैन । अहिले जसरी पनि महाधिवेशन हुने भने पनि अध्यक्ष कर्ण नै महाधिवेशन नहोस् भन्ने पक्षमा लागेको अध्यक्षका सम्भावित उम्मेदवार कुन्दन काफ्लेले आरोप लगाएका छन् । 
 
काफ्ले भन्छन् –‘विधिसम्मत महाधिवेशनका लागि हामीले सात वटै प्रदेशमा ‘जागरण तथा प्रभाव अभियान चलायौं, त्यसको प्रतिवेदन केन्द्रीय समितिलाई दियौं । सुनुवाइ नभएकैले जीतसहितका साथीहरु अनसनमा बस्दैछन् ।’
 
काफ्लेले विगत सम्झदै भन्छन् –‘यसअघि केन्द्रीय सदस्य गणेश सापकोटाले विधिवत महाधिवेशन होस् भनेर राजीनामा दिएका थिए, अनि आमरण अनसन भयो, पार्टी नेता प्रकाशमान सिंह अधिवेशन गराउन समिति संयोजक भएकै नाताले जुस खुवाएर अनसन तोडाए, केही भएन, अबको अनसनले भने निकास दिने विश्वास छ ।’
 
रंजित कर्ण पक्ष ६४ जिल्लामा विवाद समाधान भइसकेकाले चुनाव समयमै हुने बताउँछ ।  तर काफ्ले भने ४४ जिल्लामा विवादरहित प्रतिनिधि छनोट भएको, बाँकी जिल्लामा सहमति नभएको, ६४ भनिएकामध्ये पनि ११ जिल्लामा दुई–दुई जना अध्यक्ष रहेकाले कुनै समाधान नभएको बताउँछन् । उनले मापदण्ड मिचेर ७०० झुठा प्रतिनिधि खडा गरेको आरोप अध्यक्ष कर्णमाथि लगाएका छन् । 
 
विवाद समाधान गर्न केन्द्रीय सदस्य लिलाबल्लभ दाहालको संयोजकत्वमा गठिन कार्यदलको समय पनि बिहीबार (साउन ६ गते) सकिएको छ । कार्यदलले एक महिनामा केही पटक चिया गफ गरेरै समय कटाएको काफ्लेको आरोप छ । 
 
पार्टी केन्द्रीय सदस्य डा. प्रकाशशरण महतको संयोजकत्वमा पार्टीले निर्देशक समिति गठन गरे पनि त्यसलेसमेत केही नगरेको आरोप कुन्दन काफ्लेको छ । काफ्ले भन्छन् –‘उहाँ कुरा राम्रो गर्नुहुन्छ, गफ गर्नुहुन्छ, त्यत्ति हो ।’ हाम्राकुराले राखेको जिज्ञासामा महतसमेत साउन २३ मा महाधिवेशन हुनेमा आशावादी छैनन् । 
 
‘जीत शेरचनसहितका साथीहरू आमरण अनसन बसेपछि नैतिक दबाब बढ्छ भन्ने हाम्रो ठहर हो’ कुन्दन काफ्लेले भने ‘यो सुरुवात हो, अब जोडतोडले हामी निष्पक्ष महाधिवेशनका लागि लाग्छौं ।’  रंजित कर्णमाथि नै नैतिक प्रश्न सिर्जना भएको भन्दै काफ्लेले पार्टी अझै पनि भागबण्डाको हिसाबले नेविसंघ चलाउन खोजेको शंका उब्जेको बतााए ।   
 
काफलेको भनाइमा सहमति जनाउँदै अर्का विद्यार्थी नेता डिल्लीराम सुवेदीले देशभरका साथीहरुको भावना विधिसम्मत महाधिवेशन गर्ने रहेकोले त्यसलाई पार्टीले गम्भिरतापूर्वक लिएर महाधिवेशन गराउनुपर्ने बताए। उनले अहिलेको कार्यसमितिमिले विधिसम्मत निर्वाचन गराउने कुरा यसले बनाएका करिव ७ सय फर्जि मतदाताका कारण पनि हुन्न। त्यसैले यसलाई गम्भिरतापूर्वक नलिने हो भने दवावमुलक अभियान अन्तर्गत आमरण अनशनसम्मको तयारी भएको सुवेदीले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ