arrow

ओलीले दिएको अभिव्यक्ति हास्यास्पद : शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ४ बिहिबार
bishwa-prakash2.JPG

दमक । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति हास्यास्पद भएको टिप्पणी गरेका छन् ।दमकमा आयोजना गरेको पत्रकार भेटघाटमा काँग्रेस केन्द्रीय सदस्यसमेत रहेका प्रवक्ता शर्माले अध्यक्ष शर्मा ओलीले दिएको एक साताभित्र वर्तमान सरकार ढाल्ने अभिव्यक्ति हास्यास्पद भएको टिप्पणी गरेका हुन् । 

संविधान बनेको यो सरकारलाई कसैले ढाल्न नसक्ने चेतावनी दिँदै उनले यही सरकारले तीनै तहको निर्वाचन सम्पन्न गर्ने स्पष्ट पारे । 

देश प्राकृतिक विपत्तिमा परेको र यतिखेर दलीय एकता खाँचो रहेको बताउँदै उनले विपत्तिलाई सामना गर्न नै हामी सबैको साझा दायित्व भएको जोड दिए । प्रवक्ता शर्माले विपत्तिले सिङ्गो राष्ट्र डुबेका बेला सरकारसँगै सबै नागरिक उद्धार र राहतका कार्यमा एकजुट हुनुपर्ने धारणा राखे । 

जिल्लाको दक्षिणी बाढीग्रस्त क्षेत्रको अवलोकन तथा बाढीपीडितसँग भेटघाट गरेका उनले बाढी, पहिराबाट ज्यान गुमाएका तथा उठिबास भएका परिवारलाई पुनः स्थापना गरी राहत दिन सरकारले थप व्यवस्था गर्नुपर्ने उल्लेख गरे । 

सरकारले विपत्ति लगत्तै गरेको निर्णय प्रशंसनीय भएको चर्चा गर्दै उनले भने, “सरकारले गरेको निर्णय निष्पक्ष कार्यान्वयन गर्न तीनै तहको सरकार गम्भीर हुनुपर्छ ।” उनले विपत्तिमा परेका किसानलाई थप राहतको प्याकेज ल्याउनुपर्ने सरकारसँग माग गरे । काँग्रेस विपत्ति सहकार्यमा सदैव दलीय आस्थाभन्दा माथि रहेको उनको धारणा थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ