काठमाडौं । कांग्रेस–माओवादी केन्द्र आर्थिक विधेयक अघि बढाउन सहमत भएपछि संसदको कार्यसूचीको टुंगो लागेको छ । यद्यपि, बैठकमा आर्थिक सत्ताधारी एमाललेले भने झैं पहिले आर्थिक विधेयक पेश गर्ने सहमति भएको छ ।
यद्यपि, कांग्रेस माओवादीले आर्थिक विधेयकको विपक्षमा मतदान गर्ने भनेर बैठकमै भनेका छन् । सत्तारुढ दल राप्रापा नेपालका प्रमुख सचेतक एवं सांसद दिननाथ गिरीले भने, ‘उहाँहरुले फेल गर्ने शर्तमा पहिले आर्थिक विधेयक पेश गर्न दिने सहमति जनाउनु भयो ।’ आर्थिक विधेयक पेश भएपछि मात्रै अविश्वास प्रस्ताव कार्यसूचीमा जाने छ ।
संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले संसदको कार्यसूची टुंगो लगाएपछि साढे ४ बजे बैठक बस्ने तय भएको छ ।
गिरीले भने, ‘आर्थिक विधेयक संसदमा पेश भएपनि उहाँहरुले फेल गर्ने भन्नु भएको छ ।’ सोही शर्तमा आर्थिक विधेयक अगाडी पेश गर्न राजी हुनु भएको हो । नभए उहाँहरुले पहिले अविश्वास प्रस्ताव नै ल्याउनु पर्ने भनिरहनु भएको थियो । उहाँहरुले संसदमा आर्थिक विधेयक फेल गर्ने पक्षमा मतदान गर्नु हुन्छ । आर्थिक विधेयक फेल भए के हुन्छ ? उनले भने, ‘त्यस विषयमा यही हुन्छ भन्न सकिँदैन । अवको परिस्थिति राम्रो होला जस्तो छैन । विधेयक एकिकृत कार्यसूचीमा जाने भनिएको छ ।
संसदमा कस्ले कुन पक्षमा मतदान गर्ने भन्ने स्वतन्त्रता हुन्छ, उहाँहरुले के गर्नु हुन्छ थाहा छैन प्रमुख : सचेतक ढकाल
एमाले प्रमुख सचेतक भानुभक्त ढकालले संसदमा पक्ष विपक्षमा मतदान गर्न पाउने स्वन्त्रता सबैलई हुने भएकाले को विधेयकका पक्षमा हुन्छन् र को विपक्षमा हुन्छन् भन्ने सांसदहरुको हातको कुरा हो –भने । उनले भने, ‘हामी विधेयक पास गर्ने पक्षमा छौं, उहाँहरुले के गर्नु हुन्छ थाहा छैन ।’ जे होस् विधेयक संसदको कार्यसूचीमा पहिले आएको छ ।
विधेयक पास गर्न दिने कुरै हुँदैन, बहुमत हामीसंग छ
कांग्रेस सांसद आनन्द प्रसाद ढुंगानाले संसदमा पहिले आर्थिक विधेयक पेश भएपनि पारित गर्न नदिने बताएका छन् । उनले भने, ‘पास गर्नलाई बहुमत चाहिन्छ । कि सरकारले बहुमत बनाउन सक्नु पर्छ । नभए हामीले अश्विास ल्याइसकेपछि अल्पमतमा परेको सरकारलाई सघाउने कुरा भएन । हामी विपक्षमा मतदान गर्छौं । उनले भने, ‘अहिले आर्थिक विधेयक पास गर्न दिए । भोली बहुमत छ भन्दै फेरि सत्ताधारी उफ्रिन थालिहाल्छन् ।’