सोलुखुम्बु। सोलुखुम्बुको छेस्काम–७ पोपुलुङमा एउटा गाउँ नै पहिरोको उच्च जोखिममा परेको छ।
पहिरो खस्ने क्रम नरोकिए पछि गाउँमा रहेको १४ परिवारले गाउँ छाडेका छन् । गएको ३१ गतेदेखि गाउँ माथिको भिरबाट ठूलो पहिरो खसे पछि त्रसित बनेका गाउँका बासिन्दा आफन्त र छिमेकी गाउँको शरणमा पुगेका छन्।
गाउँदेखि झन्डै एक किलोमिटर उचाइमा रहेको लुङकास्कुडाँडामा रहेको भीमकाय ढुङ्गा धस्सिएर ठाउँ छाडेपछि उक्त ढुङ्गा गाउँमा खस्ने डरमा गाउँलेले बस्ती छाडेका हुन् ।
भीमकाय ढुङ्गा खसेमा गाउँका पूरै घर क्षति पुर्याउने डरले सर्वसाधारणले ज्यान जोगाउन गाउँ छाडेको स्थानीय बदरकुमार राईले जानकारी दिए। चौध परिवारमा रहेका करिब ७० जना मानिसले पाँच दिनदेखि गाउँमा रात बसेका छैनन्। उनीहरु टिमेकी गाउँ ओखममा बस्ने गरेका छन्।
गाईबस्तु ३१ गते नै गोठला भन्ने खाली जग्गामा सामूहिक रुपमा बाँधिएको छ । चौध घरमध्ये पनि छ घर उच्च जोखिममा रहेको गाविस सचिव चन्द्रप्रसाद लुइँटेलले जानकारी दिए।
पहिरोबाट गाउँ नै जोखिममा रहेको खबरपछि प्रतिपरिवार दुई थानका दरले त्रिपाल पठाइएको दैवीप्रकोप उद्धार समिति सोलुखुम्बुका संयोजक कृष्णप्रसाद शर्माले जानकारी दिए। इलाका प्रशासन कार्यालय सोताङमा रहेको त्रिपाल त्यसतर्फ पठाइएको उनको भनाइ छ । रासस