arrow

गठबन्धनलाई ओलीको चुनौती- जोजो मिलेर आए पनि एमालेले सामना गर्छ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १५ सोमबार
kp-sarma-oli-baa.JPG

चितवन ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई सबै मिलेर आगामी निर्वाचनमा आए पनि एमालेले एक्लै सामना गर्ने चुनौती दिएका छन् ।  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको गृह जिल्ला चितवनको भरतपुरमा एमालेको कमिटी अधिवेशनमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

गठबन्धन निर्वाचनसम्म मिल्ने चर्चा चलिरहेको भन्दै उनले भने, “जोजो मिलेर आए पनि एमालेले सामना गर्छ ।” ओलीले भने, “हामीले एकल बहुमत ल्याउनुपर्छ । प्रत्यक्षमा र समानुपातिकमा कम्तीमा ५०-५० प्रतिशतभन्दा बढी ल्याउनपर्छ, त्यसको तयारी गर्नुहोस्, एमाले वैशाखी टेकेर होइन, एक्लै चुनावमा जान्छ ।” 

आगामी संसदीय निर्वाचनमा पार्टीले एकल बहुमत ल्याउने बताए । उनले कसैसँग नमिलीकनै एमालेले बहुमत ल्याउने बताएका हुन् । नेकपा एमाले बहुमतको सङ्कल्पका साथ अघि बढेको भन्दै उनले कसैको तागतले रोक्न नसक्ने बताए । 

उनले भने “अब फेरि कसैले मतपत्र च्यातेर चुनाव जित्छु भन्ने सपना नदेख्दा हुन्छ ।” आफूहरू तीनै तहमा बहुमत ल्याउने सङ्कल्पका साथ अगाडि बढेको बताउँदै उनले रोक्न सके रोक्नका लागि विपक्षी दलहरू समक्ष चुनौती दिए ।

नेकपा (एमाले) पदका लागि नभएर देश बनाउनका लागि खुलेको पार्टी भएको भन्दै उनले यसका कार्यकर्ता यसैतर्फ केन्द्रित हुने बताए । उनले भने, “हामी समाजवाद ल्याउन चाहन्छौँ, समाजवादको आधार तयार पार्न ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई साकार पार्नुपर्छ ।” समाजवादको आधार तयार पार्ने बाटो र विधि जनताको बहुदलीय जनवाद भएको बताउँदै ओलीले भने, “हामी देश बनाउन हिँडेका हौँ, पाँच दलीय गठबन्धन भत्काउन हिँडिरहेका छन् ।”

पार्टीको अधिवेशनमा पारस्परिक अन्तर्विरोधलाई त्यागेर भविष्यका लागि मिलेर जान आवश्यक रहेको उनले बताए । उनले भने, “हिजो के के भयो भन्ने बिर्सिनुहोस्, अब पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्नुहोस् ।” उनले चितवनका सबै क्षेत्रमा निर्वाचन जित्ने गरी लाग्न निर्देशन दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ