arrow

भाइटिकामा ओलीको सन्देश-नकारात्मक प्रवृत्तिहरूलाई परास्त गरौँ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १९ शुक्रबार
kp-oli-balkot-meet.jpg

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तिहार तथा भाइटिका २०७८ को अवसरमा शुभकामना सन्देश दिएका छन् । तिहारको अन्तिम दिन मनाइने भाइटिका पर्वले दाजुभाइ र दिदीबहिनीका बिचको आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउने विश्वास रही आएको सन्देशमा ओलीले भनेका छन् । 

सरकारको नेतृत्वमा रहंदा नेकपा (एमाले)ले नवनिर्मित संविधानको संस्थागत कार्यान्वयन मार्फत मुलुकको विकास र समृद्धिको नेतृत्वदायी भूमिका निर्वाह गरेको उनको भनाइ छ ।

'समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा साकार पार्ने हाम्रो यस अभियानमा खडा गरिएका व्यवधान र राजनीतिक तथा सामाजिक वृत्तमा परिव्याप्त नकारात्मक प्रवृत्तिहरूलाई एकताबद्ध भएर परास्त गर्ने दिशामा अघि बढ्न समेत म सबैमा आह्वान गर्दछु ।' सन्देशमा उल्लेख छ ।

शुभकामना सन्देश
तिहार पर्व, २०७७ तथा भाइटिकाको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । 

यमपञ्चकको पाँच दिनसम्म मनाइने यस पर्वमा मानव जीवनका अनेक पक्षसँग गाँसिएका पशुपक्षी र वनस्पतिलाई सम्मान स्वरूप पूजा गर्ने प्रचलन छ । पाँच दिनसम्म मनाइने तिहारमा हरेकका घरघरमा काग, कुकुर, गाई, गोवर्द्धन र लक्ष्मीको पूजा गरी साँझमा दीपावली गर्ने र अन्तिम दिन भाइटिका लगाउने परम्परा रहिआएको छ ।

 तिहारको अन्तिम दिन मनाइने भाइटिका पर्वले दाजुभाइ र दिदीबहिनीका बिचको आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउने विश्वास रही आएको छ । यस पर्वको अभिन्न अङ्गको रूपमा रहेको देउसी÷भैलो खेल्ने सांस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुतालाई सुदृढ बनाउँदै आएको छ । 

तर चाडबाडका नाममा हुने गरेका केही नकारात्मक पक्षहरूलाई भने हामीले हटाउनु आवश्यक छ । औचित्य र आवश्यकताको वास्तै नगरी, आफ्नो सामर्थ्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउँदा फजुल खर्चमा हौसिनेजस्ता अभ्यास कुनै पनि कोणबाट उचित होइनन् । यस्ता अभ्यासलाई सच्याएर हाम्रा चाडपर्वहरूलाई मितव्ययी र उचित बनाउन हामी सबै सजग र सचेत रहनु आवश्यक छ । 

सरकारको नेतृत्वमा रहँदा नेकपा (एमाले)ले नवनिर्मित संविधानको संस्थागत कार्यान्वयन मार्फत मुलुकको विकास र समृद्धिको नेतृत्वदायी भूमिका निर्वाह गर्‍यो । हामीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्न नयाँ संविधान अनुरूपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा मुलुकलाई नवनिर्माणको चरणमा प्रवेश गराएका थियौँ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा साकार पार्ने हाम्रो यस अभियानमा खडा गरिएका व्यवधान र राजनीतिक तथा सामाजिक वृत्तमा परिव्याप्त नकारात्मक प्रवृत्तिहरूलाई एकताबद्ध भएर परास्त गर्ने दिशामा अघि बढ्न समेत म सबैमा आह्वान गर्दछु । 

अन्त्यमा, तिहार तथा भाइटिकाको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा पुनः सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
 



नयाँ