काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच समसामायिक राजनीतिक विषयमा भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा बिहान भएको भेटमा व्यवस्थापिका–संसद्मा संविधानका बारेमा उठिरहेका विषयमा केन्द्रित रहेर कुराकानी भएको थियो । भेटमा राष्ट्रपति भण्डारीले पछिल्लो राजनीतिक अवस्थाका बारेमा दलहरुबीच राम्रो समदझारी बनी मुलुक सहज निकासतर्फ अग्रसर होस् भन्ने आफ्नो चाहना रहेको बताएको अध्यक्ष दाहालले सञ्चारकर्मीलाई जानकारी दिए ।
राष्ट्रपति भण्डारीले सबै पक्षसँग छलफल गरेर सहज समाधान निकाल्नेतिर आफ्नो भूमिका रहने विश्वास अध्यक्ष दाहाललाई दिलाइन् । भेटमा अध्यक्ष दाहालले सदनमा रहेको अविश्वासको प्रस्तावमाथिको छलफलपछि के हुन्छ हेर्न बाँकी छ भन्दै सबै कुरालाई सकारात्मक ढङ्गबाट छिटो निकास निकाल्न आफू प्रयासरत रहेको बताएको सुनाए ।
अध्यक्ष दाहालले परम्परा, अभ्यास र संविधानको मूल मर्म र भावनानुरुप सहज ढङ्गले नै अघि बढ्नुपर्छ र बढ्भछौं –भने । भेटमा राष्ट्रपतिले अविश्वासको प्रस्ताव पारित भयो भने वर्तमान प्रधानमन्त्री स्वतः पदमुक्त हुने र नयाँ प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढ्नुपर्छ भनेको समेत दाहालले जानकारी गराए ।