- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा। कास्की प्रहरीले पोखराको चापापानीबाट ६ जना जुवाडे पक्राउ गरेको छ। पोखरा महानरपालिका वडा नं-१२ चापापानीस्थित नवीन गौचनको घरमा तास खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्। उनीहरू गए राति २ बजे पक्राउ परेका हुन्। उनीहरूको साथबाट १८ लाख ७५ हजार ५३० रुपैयाँ बरामद भएको कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए।
डिएसपी हमालका अनुसार उक्त स्थानमा तास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मुस्ताङ जिल्ला थासाङ गाउँपालिका वडा नं-३ घर भई हाल पोखरा-१२ चापापानी बस्ने ३२ वर्षीय नवीन गौचन, पोखरा–१२ फूलबारी बस्ने ४४ वर्षीय काजी गुरुङ छन्।
यसै गरी पोखरा-१२ माटेपानी बस्ने ३८ वर्षीय सूर्य गुरुङ, दैलेख जिल्ला नौमुले गाउँपालिका वडा नं-८ घर भई पोखरा-२६ विजयपुर बस्ने ३५ वर्षीय खम्बसिंह राना, कास्की मोदी गाउँपालिका वडा नं-१० घर भई हाल पोखरा-१३ सङ्गम टोल बस्ने ३६ वर्षीय खेमराज गुरुङ र पोखरा-१९ घर भई हाल पोखरा-१६ दीप बस्दै आएका ३५ वर्षीय श्याम श्रेष्ठ पनि पक्राउ परेको कास्की प्रहरीले जनाएको छ।
उनीहरूले उक्त स्थानमा जुवा खेल्नकै लागि सिसिटिभी जडान गरी सङ्गठित रूपमा जुवा खेल्ने खेलाउने गरेको प्रवक्ता हमालले बताए। पक्राउ परेका उनीहरू विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताइएको छ।