काठमाडौं। नेपाल र भारतबीचको सीमानाकामा रहेको कोशी ब्यारेजमा आक्रमण गर्ने अन्तराष्ट्रिय आतंकबादी संगठनको धम्कीपछि नेपाल सरकारले सुरक्षा सतर्कता बढाएको छ। झण्डै एकहप्ता अगाडि आतंकबादी संगठनको आक्रमणको हवाला दिँदै भारतको सुपौल जिल्लाको डिस्ट्रिक मेजेस्ट्रीले सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै पत्र पठाएपछि नेपाल सरकारले पनि सुरक्षा सतर्कता बढाउँदै पहिलेको भन्दा सुरक्षा तैनाथी बढाएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
भारतीय गुप्तचर निकायहरुबाट प्राप्त सूचनाहरुका आधारमा सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर चापागाँईलाई उनका भारत सुपौल जिल्लाका समकक्षी वैधनाथ यादवले एक पत्र पठाइ कोशी व्यारेजमा आतंकवादी आक्रमणको खतरा भएको भन्दै सचेत गराउने पत्र पठाएका थिए। पत्र प्राप्त भएपछि सुनसरीका प्रमुख जिल्ला अधिकारीले तत्काल सुरक्षा वैठक बोलाइ कोशी व्यारेजमा सुरक्षाकर्मीको संख्या बढाउने निर्णय गरेका थिए। नेपालका प्रहरीको मात्र सुरक्षामा रहँदै आएको व्यारेजमा त्यसपत्र लगत्तै सशस्त्र प्रहरी बललाई तैनाथी गरिएको प्रमुख जिल्ला अधिकारी चापागाईले हाम्राकुरालाई जानकारी दिए। सुरक्षा चुनौती थपिएसँगै सुरक्षा निकायको सुझावको आधारमा कोशी व्यारेज आसपास माछा मार्न प्रतिवन्ध लगाइएको छ। वर्खाको वेलामा वाढीले वगाएर ल्याएको दाउरा तथा मुढाहरु झिक्ने काममा समेत वन्देज लगाइएको छ। प्रहरीले व्यारेजमा तस्विर खिच्नका लागि रोक्नेहरुलाई कडा निगरानी गर्न थालेको छ। उनीहरुको चेकजाँच समेत बढाइएको छ।
यसै विषयमा विभिन्न भारतीय समाचार एजेन्सीहरूले समेत समाचार प्रकाशित गरेपछि यो विषय बाहिर आएको हो। यस विषयमा भारतीय सञ्चारमाध्यमहरूले सुनसरी र सप्तरी जिल्लामा पर्ने कोशी ब्यारेजको पुलमा आक्रमण गर्ने योजना बनेको बताएका छन्। ती संगठनहरूले विहार क्षेत्रमा ठूलो आतंक मच्चाउनको लागि कोशी व्यारेजमा आक्रमण गर्ने तयारी रहेको भारतीय जासुस संस्था ‘र’को विशेष सूचना पछि भारतले नेपाललाई यस्तो चेतावनी सहितको पत्र पठाएको हो।
आक्रमणको चेतावनी दिने को हुन आतंकवादी संगठन?
कोशी बाँधमा आक्रमण गर्ने धम्की दिएका आतंकबादी संगठनमा लस्करे ए तोइवा, जैसे मोहमद, पाकिस्तानी मुजाहिदीन रहेका छन्। १९८७ मा हाफिज मोहमद साइदको नेतृत्वमा जन्मिएको लस्करे ए तोइवाले अहिले पाकिस्तान भारत र अफगानिस्तानमा आतंक मच्चाउर्दै आएको छ। २००८ को मुम्बई आक्रमण पनि यसै संगठनले गराएको पनि भारतीय सञ्चारमाध्यमहरूले दावी गर्दै आएका छन्। जैसे मोहमद २००० मा मसोद अजारले जन्माएका हुन्। जम्बु काश्मीर क्षेत्रमा यस संगठनको राम्रो उपस्थिति छ। अहिले भारत, अमेरिका, बेलायत, क्यानडा र युरोपियन देशमा आफनो संञ्जाल बनाइरहेको छ। केही महिना अघि भारतको पठानकोट हमलामा यस संगठनको हात थियो । पाकिस्तानी मुजाहिदीन १९९० बाट समुह बनाएर अफगानिस्तान, इराक, फिलिपिन्स, बर्मा लगायतका देशमा लडेको थियो। अल कायदाको एउटा भाग रहेर आतंकी गतिबिधिमा यो संगठन जन्मिएको बताईन्छ। दुई तीन बर्ष देखी मात्र यो संगठन सकृय रहदै आएको छ।