काठमाडौं । पहिरोले प्यूठान र मकवानपुरमा गरी सात जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता छन् । प्यूठानको लुङ गाविस–६ मा शिशिर रिजालको घर पहिरोले भत्काउँदा उनकी श्रीमती शोभा रिजालको मृत्यु भएको छ ।
पहिरोले घर भत्काएपछि शोभाको उद्दार गर्नखोज्दा मृत्यु भएको थियो भने परिवारका अन्य सदस्य भाग्न सफल भएका थिए ।
यसैगरी, बागदुला पुलमुनि अन्दाजी १२ वर्षीया अज्ञात बालिकाको शव फेला परेको र कार्कीडाँडा पक्की पुलमुनि झिमु्रक खोलाको माझमा पनि एक बेवारिसे शव फेला परेको छ । खैरा झोलुङ्गे पुलमुनि अर्को एक शव पनि फेला परेको छ ।
त्यस्तै, झिमु्रक नदीको खैरामा बुटवल पावर कम्पनीको ड्याम साइटमा पनि अर्को एक बेवारिसे शव फेला परेको प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठौरले बताए ।
यस्तै, लुङ–६ मा डेरा गरी बस्ने काली विक र पवित्रा पुन आफ्नो घर पहिरोले बगाउँदा बेपत्ता भएका छन् ।
त्यसैगरी, खवाङ राजवारा र अर्खा गाविसमा अहिलेसम्म एक दर्जन घरमा क्षति भएको तर मानवीय क्षतिको भने कुनै विवरण नआएको बताए ।
झिमु्रक नदीमा पछिल्लो १४ वर्षकै ठूलो बहाव भएको बुटवल पावर कम्पनी दारिमचौरले जनाएको छ ।
नदीमा अत्यधिक बहाव बढेकाले दुई दिनदेखि बुटवल पावर कम्पनीको उत्पादन बन्द भएको छ ।
रजवारा गाविसमा स्थानीयले आफँैले निर्माण गरेको थाराखोला लघु जलविद्युत् आयोजना, तिखाचुली लघु जलविद्युत् आयोजना र सिरिङ खोला जलविद्युत् आयोजना पूर्णरुपमा बगाउँदा करिब ९०० घरधुरी अध्याँरोमा बस्नुपरेको स्थानीय जोगेन्द्र मल्लले बताए ।
अर्खा गाविसमा पनि तीनवटा लघु जलविद्युत् आयोजना बाढीले बगाएको छ ।
सुसाउने खोला, जुरढुङ्गा कोर्चे र कालिमाटी लघु जलविद्युत् आयोजनाको तार, पोल र विद्युत् उत्पादनगृह बाढीले बगाएको सुसाउने खोला लघु जलविद्युत् आयोजनाका अध्यक्ष पुमलाल घर्तीले जानकारी दिए ।
जिल्लाको स्याउलीवाङ गाविसमा रहेको सरिमाखोला लघु जलविद्युत् आयोजनामा कम्पनीका सबै भौतिक संरचना बाढीले बगाएको छ ।
यता, मकवानपुर जिल्लाको भीमफेदी गाविस–५ सोला भञ्ज्याङमा गएराति पहिरो जाँदा एकै परिवारका तीन जनाको पुरिएर मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृत्यु हुनेमा २५ वर्षीय टेकबहादुर रुम्बालामा, उनकी श्रीमती २३ वर्षीया पार्वती रुम्बालामा र उनका छोरा ५ वर्षीय विकास रुम्बालामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
क्षतिको विवरण अझै आउन बाँकी रहेको भीमफेदी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक वासुदेव थापाले जानकारी दिए ।
सो उद्धारकार्यमा नेपाली सेनाका टोली र स्थानीय प्रहरी टोलीले घटनास्थलमा पुगी उद्धारकार्य गरिरहेको बताइएको छ । रासस