काठमाडौं । प्युठानमा बाढीले बगाएका ५ जनाको शव भेटिएको छ । ३ जना अझै वेपत्ता छन् । बेपत्ताहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । अविरल वर्षापछि आएको बाढीका कारण बाढीले बगाएका ५ जनाको शव भेटिएको हो ।
भेटिएका मध्ये दुई जनाको सनाखत भएको छ भने तीन जनाको पहिचान भएको छैन । सनाखत हुनेमा पूजा –की ३५ वर्षीया सुपारी मल्ल र उनकै १२ वर्षीय छोरा मुकेश मल्ल छन् ।
यस्तै, प्यूठानकै लुङ गाविस–६ मा शिशिर रिजालको घर पहिरोले भत्काउँदा उनकी श्रीमती शोभा रिजालको मृत्यु भएको छ । पहिरोले घर भत्काएपछि शोभाको उद्दार गर्नखोज्दा मृत्यु भएको थियो भने परिवारका अन्य सदस्य भाग्न सफल भएका थिए ।
यसैगरी, बागदुला पुलमुनि अन्दाजी १२ वर्षीया अज्ञात बालिकाको शव फेला परेको र कार्कीडाँडा पक्की पुलमुनि झिमु्रक खोलाको माझमा पनि एक बेवारिसे शव फेला परेको छ । खैरा झोलुङ्गे पुलमुनि अर्को एक शव पनि फेला परेको छ ।
त्यस्तै, झिमु्रक नदीको खैरामा बुटवल पावर कम्पनीको ड्याम साइटमा पनि अर्को एक बेवारिसे शव फेला परेको प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठौरले बताए । यस्तै, लुङ–६ मा डेरा गरी बस्ने काली विक र पवित्रा पुन आफ्नो घर पहिरोले बगाउँदा बेपत्ता भएका छन् ।