arrow

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान

सबैको सहयोगबाट लैङ्गिक हिंसारहित समाज र मुलुक निर्माण – प्रधानमन्त्री देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ९ बिहिबार
sher-bahadur-deuba-congesss-nc.jpg
तस्वीर–फाइल ।

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक हिंसारहित समाज र मुलुक निर्माण गर्न सबैको सहयोग आवश्यकपर्ने उल्लेख गरेका छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा एक सन्देश जारी गर्दै उनले अभियानलाई प्रभावकारी रुपले मनाउन सङ्घ, प्रदेश र स्थानीय तहलगायत सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गरेका छन् । 

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान यस वर्ष नेपालमा पनि ‘घरैबाट शुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको छ । देशव्यापीरुपमा लैङ्गिक हिसाविरुद्धको अभियानमा अग्रसर भई हिंसा न्यूनीकरणमा योगदान पुर्याउने राजनीतिकर्मी, नागरिक समाज, राष्ट्रिय अन्तर्राष्ट्रिय सरकार तथा गैरसरकारी सङ्घसंस्थालगायत सरोकारवाला सम्पूर्ण निकायको समन्वयमा सुरक्षित तरिकाले विभिन्न कार्यक्रम आआफ्नो स्थानबाट अभियानका रुपमा सञ्चालन गरिने उनले बताए ।

प्रधानमन्त्री देउवाले यस अभियानले हामी सबैलाई कुरीति, पछौटेपन, अशिक्षा, अन्धविश्वास र कतिपय हानिकारक अभ्यासका कारण समाजमा देखिने लैङ्गिक हिंसाको पूर्णरुपमा अन्त्य गर्न थप ऊर्जा मिलोस् भन्ने कामनासमेत गरेका छन् । 

उनले अभियानमा मुलुकभर विभिन्न तह र निकायबाट सञ्चालन हुने क्रियाकलापले लैङ्गिक हिंसारहित सभ्य र समतामूलक समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छन् ।   

लैङ्गिक हिंसाको अन्त्य गर्न, हिंसापीडित तथा प्रभावितको मानवाधिकारको संरक्षण र सम्वद्र्धनका लागि संवेदनशील हुनुका साथै लैङ्गिक हिंसा अन्त्य गर्ने सरकारको यस अभियानमा सबैको प्रतिबद्धता र ऐक्यबद्धताका निम्ति प्रधानमन्त्री देउवाले आग्रह गरेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ