काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पशुपति शमशेर राणा चयन भएका छन् । पार्टी एकीकरणको अवसर पारेर राणालाई अध्यक्षको जिम्मेवारी दिइएको नेताहरुले बताएका छन् ।
राणा अध्यक्ष भएसंगै अब राप्रपा नेपालसंगको एकिकरणको बाटो खुलेको छ । नेतृत्व हस्तान्त्रण नटुंगिएकाले एकिकरणमा ढिलाई भएको थियो । अब राप्रपा नेपालसंगको एकिकरणपछि राणा राष्ट्रिय अध्यक्ष हुने छन् । लोकेन्द्र बहादुर चन्द भने राष्ट्रिय अध्यक्ष हुनबाट बन्चित भएका छन् ।
एकिकरण पछि राप्रपा र राप्रपा नेपालले नयाँ बनेको अन्तरिम विधान अनुसार पार्टी पदाधिकारी बाँडफाँड गर्ने छन् । महाधिवेशन अघि अन्तरिम विधान अनुसार कमल थापा कार्यकारी अध्यक्ष र राणा राष्ट्रिय अध्यक्ष हुने छन् । विधान एकिकरण पछि बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने राप्रपाका नेताहरुले बताएका छन् ।
विसं २०४६ को राजनीतिक परिवर्तनसँगै वैकल्पिक प्रजातान्त्रिक शक्तिका रुपमा गठन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी विभिन्न समयकालमा विभाजित भए पनि २०७० सालमा राष्ट्रिय जनशक्ति पार्टी र राप्रपाबीच एकीकरण भएको थियो ।
पार्टी एकताको चरणमा भएको भद्र सहमतिअनुरुप चक्रिय प्रणालीअनुसार राणा अध्यक्ष भएका हुन् । चक्रिय प्रणालीअन्तर्गत पहिलो सूर्यबहादुर थापा, दोस्रो लोकेन्द्रबहादुर चन्द, तेस्रो पशुपतिशमशेर राणा र चौथोमा प्रकाशचन्द्र लोहनी अध्यक्ष बन्ने सहमति भएको थियो । सोही सहमतिअनुरुप राणा अध्यक्ष बनेका हुन् ।
यस्तै, मंगलबारै राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल समानान्तर समूहबीच एकीकरण भएको छ ।
एकीकरण कार्यक्रममा पार्टी अध्यक्ष पशुपतिशमशेर राणाले राष्ट्रियता, प्रजातन्त्र, उदारवाद र हिन्दू राष्ट्रको रक्षाका लागि एकीकरण गरेको बताए । उनले भने, ‘सात÷आठ महिना अघि हाम्रै पार्टीभित्र विवाद थियो मिल्यौँ, सुरुमा राष्ट्रिय जनशक्ति र राप्रपा मिल्यो, आज राप्रपा नेपाल समानान्तर समितिसँग मिल्यौं अब राप्रपा नेपालसँग मिल्छौँ ।’
राप्रपाका वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले नेपालको राजनीति तथा समाजको विकासक्रमलाई सही मार्गमा ल्याउन परम्परागत, राष्ट्रवादी शक्तिको एकताको माग भएअनुरुप दुई समान पृष्ठभूमि भएका पार्टीको एकता भएकोे बताए ।
यस्तै, राप्रपा नेपाल समानान्तरका नेता सगुन लावतीले राष्ट्रिय राजनीतिमा राष्ट्रवादी शक्तिको निर्णायक भूमिका आवश्यक भएकाले एकतामा जुटेको बताए । समान विचारधारा भएको राष्ट्रवादी शक्ति एक हुनुपर्छ भन्ने उद्देश्यले एकीकरण भएको उनले प्रस्ट्याए ।
बैठकले राप्रपा नेपालसँग पार्टी एकताको कुरामा सैद्धान्तिक सहमति जनाएको राप्रपाका सहप्रवक्ता किरण गिरीले जानकारी दिए ।