प्यूठान । लगातारको वर्षाले आएको बाढी र पहिरोमा परी प्यूठानमा मृत्यु हुनेको संख्या १४ पुगेको छ । त्यस्तै २३ जना बेपत्ता भएका छन् ।
उत्तरी प्यूठानको लुङ–६ बहानेमा ५, पूजामा २, खवाङमा २ र झिमरुक नदिमा ५ गरी १४ जनाको मृत्यु भएको छ । लुङ–६ बहानेमा शिशिर रिजाल, ध्वजबहादुर पुन र बसन्ता केसीको घर पहिरोले पुरिंदा स्थानीय अन्दाजी–३५ वर्षीया शोभा रिजाल, २५ वर्षीया काली परियार, ११ वर्षीया प्रमे थापा,४० वर्षीया रञ्जना केसी र १२ वर्षीया सुशीला केसीको मृत्यु भएको छ ।
त्यस्तै, झिमरुक नदीमा थप ५ जनाको शव फेला परेको छ । झिमरुक नदीको बागदुला पक्कि पुल मुनी अन्दाजी ११ वर्षिया बालिका, प्यूठान नगरपालिकाको बिजुवारमा निर्माणाधिन भवन नजिकै अन्दाजी ४५ वर्षीय एक पुरुष र खैरा झोलुङ्गे पुल नजिक पहिचान हुन नसकेको एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
अविरल वर्षाका कारण पूजा–१ मा घर भत्किँदा ३५ वर्षीया सुपारी मल्ल र उनका छोरा ११ वर्षीय मुकेश मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । त्यस्तै, बिजुवारमा माजकोट गाविसकी जाली पुनको शव फेला परेको छ । त्यस्तै खवाङ–३ मा घर भत्कीदा ८० वर्षीय दविरे सुनार र ८० वर्षकै कुटली सुनारको मृत्यु भएको छ
त्यस्तै, उत्तरी प्यूठानको अर्खा–६ गाविसमा गोठ बस्न गएका देवबहादुर बुढा सहित उनका छोरा र छोरी वेपत्ता भएका छन् । अविरल वर्षासंगै जिल्लाको जनजीवन अत्यन्तै कष्टकर भएको छ ।
लगातारको वर्षाका कारण जिल्लामा हाल सम्ममै ठुलो मानवीय क्षति भएको अनुमान गरिएको छ । पहिरो र बाढीका कारण फोप्ली ३ र ४ मा १४ जना वेपत्ता भएका छन् । उत्तरी प्यूठानको अर्खामा –८ जना र खवाङमा–१ जना बेपत्ता भएका छन् । त्यस्तै फोप्लीमा भएको घटनामा तीन जना विद्यार्थी र ११ जना स्थानीय वेपत्ता भएका छन् ।
जिल्लाभर बाढी पहिरोले क्षति गरेकाले उद्धारकार्य जारी राखिएको प्रहरी नायव उपरिक्षक रञ्जित सिंहराठौरले बताए । फोप्लीमा झण्डै २ सय परिवार विस्थापित भएका छन् । उद्धारका लागि जिल्ला प्रसासन कार्यालयबाट उद्धार टोली घटना स्थल गएको प्रहरीले जनाएको छ ।
जिल्लाभर बाढी र पहिरोका कारण ठूलो मानवीय क्षति भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्थले बताए । बाढी र पहिरोका कारण फोप्ली, लुङ, उदयपुरकोट, रजवारा, स्याउलिवाङ र अर्खाका ३ सय ५० भन्दा धेरै घरपरिवार विस्थापित भएका छन् । उनीहरुलाई नजिकैको
विद्यालयहरुमा सारिएको छ । उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेनालगायत स्वयंसेवकहरु खटिएको जिल्ला दैवी प्रकोप उद्धार समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी पन्थले बताए ।