विराटनगर। मोरंङमा विभिन्न खोलामा आएको बाढीका कारण ६ सय परिवार विस्थापित भएका छन्। बाढीका कारण दुई दिन यता ६ सय परिवारका १२ सय जना विस्थापित भएको र तीन हजार परिवार बाढीबाट प्रभावित भएको मोरंङका प्रमुख जिल्ला अधिकारी तोयम रायाले बताए।
बाढीको चपेटामा परेका अमरदह–७, ८ र ९ का दुई सय परिवारलाई सुरक्षित स्थानमा सारेको स्थानीय प्रशासनले जनाएको छ । तटबन्ध भत्काएर बक्राहा खोलाको बाढी गाउँमा पसेपछि गोविन्दपुर र डायनिया गाउँ विकास समितिका साढे तीन सय परिवार विस्थापित भएका छन् ।
उनीहरुलाई स्थानीय विद्यालय तथा सडकमा पाल टाँगेर राखिएको मोरंङका प्रमुख जिल्ला अधिकारी रायाले बताए । पीडितहरुलाई खादान्न तथा पीउने पानीको अभाव हुन थालेको छ । बाढी आएपछि प्रभावित क्षेत्रमा ठूलो संख्यामा सशस्त्र प्रहरी नेपाल प्रहरी परिचालन गरिएको छ ।
बक्राहा चिसांगमा आएको बाढीका कारण हसन्दह, मधुमल्ला, डायनिया, अमरदह तथा दर्वेशा गाविसका वासिन्दाहरु विस्थापित भएको प्रमुख जिल्ला अधिकारी रायाले बताए । यसैगरी, विस्थापित परिवारलाई राहत वितरण कार्यलाई तीब्र बनाउने समितिले निर्णय गरे अनुसार गोविन्दपुर, हसन्दह, अमदहमा राहत वितरण कार्य भइरहेको जनाइएको छ । राहतका लागि चिउरा, भूजा तथा अन्य खाद्यान्न प्रभावित क्षेत्रमा पठाउने कार्य भइरहेको छ ।
यसैगरी, जिल्ला प्रसासन कार्यालय मोरङ्ले बाढी पीडितहरुको सहयोगका लागि चासो देखाएको छ । प्रशासन कार्यालयमा सोमबार बिहान जिल्ला दैविक प्रकोप उद्धार समितिको बैठकले तीब्र रुपमा राहत संकलन गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी रायाको अध्यक्षतमा बसेको बैठकले बाढीले पु¥याएको भौतिक संरचनाहरुका तत्तकाल निमार्ण गर्ने सरकारी कार्यालयहरुलाई निर्देशन समेत दिएको छ ।
डायनियमा भत्काएको सडकलाई तत्काल निमार्ण गर्न प्रमुख जिल्ला अधिकारी रायाले सडक कार्यालयलाई निर्देशन समेत दिएका छन् । राहत संकलन कार्यलाई स्थानीय प्रशासन, सरकारी कार्यालय तथा उद्योग संगठन मोरङ व्यापार संघ साथै उद्योगी व्यापारीहरुले समेत चासो देखाएका छन् ।
बाढी पीडितहरुको सहयोगका लागि उद्योग संगठन तथा व्यापार संघले चिउरा, भूजा, नुन तथा प्याज लगायत विभिन्न खाद्य समाग्रीहरु प्रदान गरेको मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले बताए । यसैगरी स्थानीय व्यापारी हसन अन्सारीले बाढी पीडितका लागी एक हजार केजी चिउरा, पाँच सय केजी भूजा तथा पाचँ सय वोतल पानी उपलव्ध गराएका छन् ।
यसैगरी, लायन्स क्लव विराटनगरले बाढी पीडितका लागि विभिन्न खाद्यान्न समाग्री उपलब्ध गराएको छ। राहत संकलनका लागि मोरङ व्यापारसंघ तथा उद्योग संगठनले व्यापक रुपमा राहत संकलनगरी रेडक्रसलाई बुझाउने गरेको उपाध्यक्ष राउतले बताए।