arrow

नेविसंघको महाधिवेशन अन्योल, अनसन केवल दैनिकीजस्तो

logo
प्रकाशित २०७३ साउन १३ बिहिबार
NSU-Flag.jpg.jpeg
काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघको विधिवत महाधिवेशन, भागबण्डाको खारेजीलगायतका माग राखेर रिले अनसनमा रहेका नेविसंघका कार्यकर्ताप्रति माउ पार्टी नेपाली काँग्रेसले बेवास्ता गरेसंगै महाधिवेशन हुनेमा अन्योल बढेको छ । महाधिवेशनका लागि विभिन्न समिति बनाइए पनि ती केवल कर्मकाण्डीजस्ता देखिएका छन् ।
 
गत आइतबारदेखि पार्टी मुख्यालय सानेपामा अनसनरत विद्यार्थी कार्यकर्तालाई भेट्न अहिलेसम्म केन्द्रीय तहका एक जनामात्र नेता पुगेसंगै स्पष्ट हुन्छ कि न त काँग्रेस नेताहरु अनसनलाई गम्भीर रुपमा लिएका छन् न त नेविसंघको महाधिवेशनलाई । अहिलेसम्म गत मंगलबार केन्द्रीय सदस्य गुरुराज घिमिरेमात्र पुगेको अनसनकारीले जनाएका छन् ।
 
नेबिसंघका केन्द्रीय अध्यक्षसमेत भइसकेका घिमिरे पार्टीले नेबिसंघका महाधिवेशन गर्न बनाएको पार्टीको निर्देशन समितिका सदस्य्समेत हुन्। त्यस्तै केही जिल्लाका सभापतिहरु अनसनस्थल पुगे पनि महत्वपूर्ण पद ओगटेर बसेका नेताहरु भने नपुगेको गुनासो गरिएको छ । 
 
नेविसंघको महाधिवेशन यही साउन २३–२५ गते काठमाडौंमा हुँदैछ । तर त्यसका लागि तयारी भएको छैन । अहिलेसम्म ६४ जिल्लाबाटमात्र महाधिवेशन प्रतिनिधि छानिएको छ ।
 
त्यसमा पनि १३ जिल्लाका प्रतिनिधि आफूखुसी बाँडिएको भन्दै असन्तुष्ट पक्षले पुनः छनोट हुनुपर्ने माग गरेको छ । त्यस्तै ११ जिल्लामा अधिवेशन नै हुन सकेको छैन । 
 
अनसनमा बसेकाहरु पार्टीले विधिसम्मत महाधिवेशन गराउन चाहने हो भने यी सबै जिल्लाको छनोट पाँच दिनभित्रै सकिने प्रतिक्रिया दिन्छन् ।
 
त्यसैले पनि महाविधेशन अझै टरेको छैन । तर त्यसका लागि काँग्रेस नेतृत्वमा भर पर्ने उनीहरुको भनाइ छ ।  
 
आइतबारदेखि सुरु भएको रिले अनसनको पहिलो दिन अनसनका नेतृत्वकर्ता नेविसंघ कोषाध्यक्ष कुन्दनराज काफ्लेको नेतृत्वमा ११ जना बसेका थिए।
 
त्यसयता हरेक दिन बिहान ११ बजे ११ जना बस्दै आएका छन् । सोमबार केन्द्रीय सदस्य बलदेव तिमल्सिनाको नेतृत्वमा, मंगलबार केन्द्रीय सदस्य तुलसा पन्तको नेतृत्वमा, बुधबार पूर्व केन्द्रीय सदस्य एलबी कार्कीको नेतृत्वमा रिले अनसन बसेको छ ।
 
त्यस्तै बिहीबार बानेश्वर क्याम्पसका स्ववियु सभापति नारायण श्रेष्ठको नेतृत्वमा रिले अनसन हुँदैछ । 
 
अहिले नयाँ सरकार गठनको प्रक्रियामा काँग्रेस नेताहरु अल्झिएकाले पनि भ्रातृ संगठनका माग गौण बनेका हुन् कि भन्ने आरोप अनसनकारीहरुको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ