काठमाडौं। नेपाली काँग्रेसका युवा नेता, केन्द्रीय सदस्य एवं सांसद बद्रीप्रसाद पाण्डेले पदमा आशक्ति नभइ पार्टीले दिएको जिम्मेवारी कुशलपूर्वक बहन गर्न आग्रह गरेका छन्। हाम्राकुरासंगको कुराकानीमा नेता पाण्डेले आफू नयाँ सरकार गठनका क्रममा मन्त्रीको होडमा नरहेकोसमेत खुलासा गरे।
उनले पार्टीले दिएको जस्तोसुकै जिम्मेवारी बहन गर्न तयार भए पनि आफू सरकारमा जाने होडमा नरहेको बताए। अहिलेको आवश्यकता सरकारमा जानु भन्दा पनि पार्टीमा एकता बनाउने रहेको भन्दै नेता पाण्डेले युवाहरू एक भएमात्र काँग्रेसले जनतासामु साख जोगाइराख्ने बताए।
युवाहरूलाई काँग्रेसले राम्रो अवसर दिइरहेको भन्दै केन्द्रीय सदस्य पाण्डेले बाहिर बजारमा आएजस्तो काँग्रेसमा बुढाखाडामात्रै छन् भन्ने कुरा गलत भएको स्पष्ट पारे। युवा नेता पाण्डेले अहिले बन्ने सरकार संयुक्त हुने भएकाले निश्चित सीटमात्र पाउने भएकाले त्यसमा लडाइँ गरेर पार्टीलाई कमजोर पार्नुभन्दा आवश्यकता भएका र अहिलेको राजनीतिक परिस्थितिलाई बुझेकालाई मन्त्रालयको जिम्मेवारी दिंदा राम्रो हुने बताए।
सरकारमा जानका लागि कत्तिको पहल भइरहेको छ भन्ने प्रश्नमा पाण्डेले भने ‘मेरो नेताहरूको घरमा धाउने प्रवृत्ति छैन, उहाँहरूले मलाई चिन्नु भएकै छ, के कस्तो काम गरेको छु थाहा छँदैछ, आवश्यकता महसुस गर्नुभएछ भने बोलाउनु हुने नै छ ।’
पाण्डेले पार्टीमा युवालाई अवसर दिने विषयमा व्यापक चर्चा चल्ने गरे पनि व्यवहारमा भने त्यसले मान्यता पाउन धेरै कठिन भएकोसमेत स्वीकारे । किन त ? उनको सटिक जबाफ छ –पुरानो पार्टी हो बुढाखाडा धेरै छन् । उनले जनतासंग जानका लागि र केन्द्रीय चुनावका लागि गरेको क्याम्पेनिङजस्तो मन्त्री बन्नलाई क्याम्पेनिङ गर्न नसकिने पनि बताए । उनी भन्छन् –यो पार लाग्ने विषय नै हैन ।
काँग्रेसले महत्वपूर्ण भूमिकासहित सरकारमा सहभागीता जनाउँदै गर्दा मन्त्री बन्ने होडमा भने चर्कै बहस भइरहेको छ ।