काठमाडौं । यही साउन २१ गतेदेखि ब्राजिलको रियो दि जेनेरियोमा हुँदै गरेको रियो ओलम्पिक खेलकुदमा नेपाली खेलाडीले मार्चपासमा भाग लिन नपाउने भएका छन् । पाँच खेलमा सात खेलाडी र पाँच प्रशिक्षकसहित १२ जना अनिवार्य जानुपर्ने भए पनि त्यो भन्दा बढी पदाधिकारीहरुको संख्या भएसंगै खेलाडीको मार्चपासको अवसर कटौती भएको हो ।
स्रोतका अनुसार पहिलो चरणमा जाने खेलाडीहरुले मार्चपासमा भाग लिन पाए पनि दोस्रो चरणमा जाने खेलाडी तथा प्रशिक्षकले मार्चपासमा सहभागी हुन नपाउने भएका हुन् । पहिलो चरणमा आइतबार पौडी, आर्चरी र जुडोका खेलाडी तथा प्रशिक्षक जाँदैछन् । तर केही दिन पछि जाने तेक्वान्दो र एथलेटिक्सका खेलाडी तथा प्रशिक्षक भने मार्चपासमा वञ्चित हुने भएका हुन् ।
किन त ? स्रोत भन्छ –ओलम्पिकका पदाधिकारीलाई मार्चपासको रहर हुने भएकाले पनि खेलाडी तथा प्रशिक्षक बञ्चित हुने भएका हुन् । सन् २००४ को एथेन्स ओलम्पिकमा पहिलो पटक छनोट चरण पार गरेर नेपालको प्रतिनिधित्व गरेकी तेक्वान्दोकी संगीना वैद्य यतिबेला प्रशिक्षकको भूमिकामा जाँदैछिन् । तर उनी नै मार्चपासको अवसरबाट वञ्चित हुँदैछिन् ।
स्रोत भन्छ ‘नयाँ सदस्यहरुले मार्चपासमा सहभागीता जनाउनका लागि रहर गर्नुभयो त्यसैले खेलाडीको कोटा काटियो ।’
यसपटकको ओलम्पिकमा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टको नेतृत्वमा टिम रियो दि जेनेरियो पुग्दैछ । विष्ट शनिबार रियो जाँदैछन् भने आइतबार खेलाडी, प्रशिक्षक एवं अन्य पदाधिकारी जाँदैछन् ।
ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव लामा टेन्डी शेर्पासंगै उपाध्यक्ष ज्योति राणाका साथमा नयाँ सदस्यहरु सबैजसो ब्राजिलको साम्बा नाच हेर्न पुग्नेछन् ।
त्यसैगरी ओलम्पिक कमिटिका अतिथिका रुपमा एनआरएनएका अध्यक्ष शेष घलेसंगै ओलम्पिक कमिटिका अध्यक्ष श्रेष्ठका साथी मनिन्द्र रञ्जित पनि छन् ।
त्यस्तै पत्रकारतर्फ तीन जना जाँदैछन् । दी हिमालयन टाइम्सका खेल प्रमुख एवं नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्य तथा अन्नपूर्ण पोस्ट् दैनिकका खेलकुद प्रमुख रोशन राउत र अन्नपूर्णकै फोटो पत्रकार एवं फोटो जर्नलिष्ट पिजे क्लवका अध्यक्ष विकास कार्कीलाई पनि ब्राजिल जाने भाग्य जुरेको छ ।
नेपाली खेलाडीको लक्ष्य भनेको मुस्किलले राष्ट्रिय कीर्तिमान तोड्नु नै हुनेछ । किनकि जति पनि खेलाडीले भाग लिंदैछन् ती सबै वाइल्ड कार्ड नै हुन् ।
सन् १८९६ देखि सुरु भएको आधुनिक ओलम्पिकमा नेपालले भने सन् १९६४ देखिमात्र भाग लिन थालेको हो ।
अहिलेसम्म सन् २००४ को एथेन्स ओलम्पिकमा तेक्वान्दोबाट संगीना वैद्यले तथा सन् २००८ मा तेक्वान्दोबाटै दीपक विष्टले छनोट चरण पूरा गरेर बेइजिङ ओलम्पिकमा भाग लिएका थिए ।