arrow

बाइडेनले आयोजना गरेको सम्मेलनमा देउवाले भने ‘नेपालको शान्ति प्रक्रियाको मोडल उदाहरणीय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २४ शुक्रबार
summit-for-democracy.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जटिल खालका राजनीतिक मतभेदहरुलाई पनि शान्तिपूर्ण वार्ताका माध्यमबाट नै समाधान गर्न सकिने उदाहरण नेपालले प्रस्तुत गरेको बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको लोकतन्त्र शिखर सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बिहीबार राति सो कुरा बताएका हुन् । 
 
सो सम्मेलनलाई भिडियोमार्फत् सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले द्वन्द्वको समाधानका लागि नेपालले लिएको शान्ति प्रक्रियाको मोडल सबैका लागि उदाहरणीय भएको बताएको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

उनले लोकतन्त्र र लोकतान्त्रिक रुपान्तरणको यात्रामा नेपालको अनुभव सुनाउँदै शान्ति प्रक्रियामार्फत् भएका उपलब्धिहरूको चर्चा गरे । नेपालमा शान्ति प्रक्रियाको अभिन्न अङ्गका रूपमा निर्वाचित संविधानसभाले लोकतान्त्रिक र समावेशी संविधानको निर्माण गरेको उनले बताए । 

सो सम्बोधनमा प्रधानमन्त्री देउवाले लोकतन्त्रको माध्यमबाटै जनताको आकाङ्क्षा पूरा गर्नुपर्नेमा जोड दिँदै नेपालले लोकतन्त्रलाई दिगो बनाउन आर्थिक विकासका विषयलाई प्राथमिकता दिएको बताए । उनले महिला सशक्तिकरण, भ्रष्टाचार नियन्त्रण, सुशासन, समावेशी प्रतिनिधित्व र शान्ति प्रक्रिया पूरा गर्नेलगायतका विषयमा नेपालको प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।
 
सो सम्बोधनमा प्रधानमन्त्रीले नागरिकको मताधिकार, शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन, स्वतन्त्र न्यायपालिका, नागरिक स्वतन्त्रताको संरक्षणजस्ता विषयवस्तुहरु नेपालको बहुदलीय प्रजातन्त्रका प्रमुख विशेषता भएको पनि स्पष्ट गरेका थिए । 

अमेरिकाले पहिलो पटक बिहीबार भर्चुअल माध्यमबाट आयोजना गरेको लोकतान्त्रिक शिखर सम्मेलनमा विभिन्न लोकतान्त्रिक मुलुकका प्रमुखहरु सहभागी भए । 

लोकतान्त्रिक शिखर सम्मेलन अर्को पटक भौतिकरुपमै आयोजना हुने बताइएको छ । यो सम्मेलनमा सय भन्दा बढी देश सहभागी रहेका छन् । अमेरिकाले ताइवानलाई समेत यो सम्मेलनमा सहभागी हुन भनेको विषयलाई लिएर चीनले आक्रोस समेत व्यक्त गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ