ओखलढुंगा । भूकम्पले थङथिलो पारेको पहाडी भूगोल ओखलढुंगा जिल्ला प्रशासन कार्यालय सहित दर्जन बढी गाविसका सयौ घरहरु पहिरोको जोखिममा परेका छन् ।
लामो समयको खडेरी पछि परेको अविरल बर्षका कारण जिल्ला प्रशासन कार्यालय सहित माम्खा, रातमाटे, बरुणेश्वर, मोली, विगुटार, पात्ले शेर्ना, वर्नालु, कुइभिर, बेतिनी, खिजिचण्डेश्वरी, पलापु, श्रीचौर, कटुञ्जे, सिद्धिचरण नगरपालिका लगायतका दर्जनौ गाविसका सयौ घरहरु परेका हुन ।
जिल्ला प्रशासन कार्यालय नजिकै पहिरो आएपनि त्यसको रोकथाम हुँन नसक्दा सिडिओ कार्यालय नै जोखिममा रहेको प्रशासन कार्यालयले जनाएको छ । जसका कारण एक हप्ता देखि सोलु–ओखलढुंगा– काठमाण्डौ सिधा यातायात सेवा समेत अवरुद्ध भएपछि यातायातका साधनहरु बजारक्षेत्र बाट ओहेरदोहोर गर्ने गरेका छन् ।
त्यस्तै जिल्लाका विभिन्न स्थानमा बर्षायाम सुरु हुनासाथ पहिरो बग्ने हुँदा यहाँका धेरै नागरकिहरु सुरक्षाका दृष्टिकोणले अन्यत्रै सर्नुपर्ने भएपनि बैकल्पीक व्यवस्थाको खोजी हुँन नसकेको स्थानीयहरु बताउँछन् । २०७२ साल बैशाख १२ र २९ गते गएको भूकम्पले थङथिलो पारेको पहाडी भूगोल ओखलढुगास्थित पहिरोको जोखिम भएका स्थानहरुमा पानी पर्नासाथ धाँजा फाटेका ठाउँबाट पानी पसेर पहिरो जान थालेको उनिहरुको भनाइ छ ।
बरुणेश्वर र ओखलढुंगा गाविसमा पर्ने तीन गाउँका ५६ परिवार दशकौं देखि पहिरोको आतंक खेपीरहेका छन् । बरुणेश्वार ९ का डाँडा गाउँ, धनेपु र ओखलढुंगा २ को अल्ले गाउँ पहिरोको जोखिममा परेकोले यहाँका नागरीकहरु राती सुत्दासमेत त्रासीत बनेर रात बिताउने गरेका छन् ।
केही बर्ष यता माम्खा गाविसस्थित भडारेको पहिरोका कारण एक दर्जन भन्दा बढी घरपरिवार विस्थापित भइसकेका तथा पचास भन्दा बढी घर परिवार पहिरोको जोखीम मोलेरै बसीरहेका स्थानिय सरोज राईले बताए । माम्खा गाबिस वडा नं ७ र ८ मा पर्ने भडारेको पहिरो वर्षाँैदेखि प्रत्येक साल बगिरहने भएकाले यहाँका दर्जन बढी घरहरु बगाइसकेको माम्खा ८ का स्थानिय धनपति खतिवडाको भनाइ छ ।
अहिले पनि पहिरोले आफ्नो घर कति खेर बगाउने हो भन्ने चिन्ताले स्थानीयवासीलाई पिरोलेको उनले बताए । ‘सयौं बर्ष देखि शुरु भएको भँडारेको पहिरो रोकथाम नहुँदा नजिकका भँडारे, पातल, डाँडा गाउँ, फेदी र बसेरीका गरी ५० भन्दा बढी घर परिवार पहिरोको जोखिममा परेका खतिवडाले जानकारी दिए । यहाँको पुरै गाँउनै सखाप हुन लागेको छ,’ उनले भने ।
त्यस्तै डाँडा गाउँकै बसेरी प्रावि पहिरोले बगाएपछि अन्यत्रै सारिएको छ भने स्थानीय लिपे र पोक्तिङ खोलाको कटानबाट बरुणेश्वरको धनेपु, विगुटारको डाँडा गाउँ, विगुटक्सार लगाएतका गाँउहरु बग्ने अवस्थामा पुगेका छन् । गाँउमा पहिरोको जोखिम मोलरै बस्नु पर्ने बाध्यता भए पनि यस तर्फ कसैको ध्यान नगएको बरुणेश्वर धनेपुका स्थानीय गोम्वु शेर्पाको गुनासो छ । तेह्र बर्ष अघि जिल्ला विकास समिति ओखलढुंगाको सहयोगमा पुनर्बासको व्यवस्था मिलाइएको भएपनि अहिले ती पुनर्वासका भवनहरु पूर्णरुपमा भत्किसकेका छन् ।
पुनर्बासका लागि भवन बनाएर मात्र नहुने, खेती गर्न जग्गा पनि दिनुपर्ने पीडितहरुको माग छ । ‘जिविसले भवन बनाइदिए पनि जग्गा जमिन नभएपछि उनीहरु स्थानन्तरण नभई जोखिम मोलेर पहिरोकै बीचमा बसिरहेका छन् ’ मोली ६ का स्थानीय राजकुकमार रुम्दालीले भने । जोखिमका वस्तीह रु स्थानान्तरण गर्न तर्फ कसैको ध्यान नगएको उनको गुनासो छ ।
जिल्लाका माम्खा, रातमाटे, बरुणेश्वर, मोली, विगुटार, पात्लेलगायतका गाविसहरुलाइ अत्यन्तै जोखिम क्षेत्र भनेर नेपाल रेडक्रस सोसाइटी ओखलढुंगाले बेलाबेलामा जोखिम न्यूनिकरण सम्वन्धी तालिमहरु दिने गरेपनि सानो लगानी र तालिमका भरमा मात्र ठुलठुलो पहिरोलाइ रोक थाम गर्न नसकीने स्थानीय चक्र प्रसाद बाँस्तोलाले बताए ।
जोखिम न्यूनिकरण सम्वन्धी दिइने तालिमको कार्यन्वायनसमेत आउन नसकेकाले पहिरोको रोकथाम हुन नसकी जोखीम ग्रस्त रहिरहेको बास्तोलाको गुनासो छ । ओखलढुंगा पहिरोको खतरा यूक्त जिल्ला भएपनि बजेट अभावका कारण रोकथाम तथा न्यूनिकरणका काम प्रर्याप्त गर्न नसकिएको जिल्ला भू संरक्षण अधिकृत गंगाराम साहुको भनाइ छ ।
रेडक्रस सोसाइटीको तथ्याङ्क अनुसार जिल्लाको ५६ गाविस मध्ये २८ गाविसहरु बाढीपहिरोको उच्च जोखिममा रहेको बताएपनि त्यसको रोकथामको कुनै प्रकृया अघि बढाउन तर्फ सरोकारवालाको ध्यान जान सकेको छैन् । पहिरो रोकथाप तथा न्यूनिकरणका विषयमा जिल्ला दैविक प्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्लाधिकारी एकदेव अधिकारीले जिल्लास्थित सबै सरोकारवाला निकायले चासो नदिएको र सुरक्षा निकायको मात्र सहयोगमा केही कामहरु भइरहेपनि बजेट अभावका कारण पीडितहरुलाई सामान्य राहत वितरण बाहेक ठूलो सहयोग गर्न नसकेको बताए।