arrow

आज सर्वदलीय बैठक बस्दै, अनिवार्य सहभागी हुन एमालेभित्र दबाब

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ४ आइतबार
pm-deuba-baluwatar-meet-2078.jpg

काठमाडौं । संसदको गतिरोध अन्त्य गर्न र एमसीसी लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री शेर बहादुर देउवाले आज आइतबारका लागि सर्वदलीय बैठक बोलाएका छन् ।

अपरान्ह ४ बजेका लागि बालुवाटारमा बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी होला कि नहोला भन्नेमा अन्योल छ । बैठकमा सहभागी हुने या नहुने विषयमा एमाले आन्तरिक छलफलमा रहेको छ ।

यद्यपी, उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले भने बैठकमा सहभागी हुन नसक्ने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । उनले नेकपा (एकीकृत समाजवादी) सहभागी हुने बैठकमा आफूहरुको सहभागीता नरहने प्रष्ट पारेका छन् । एमालेले कारवाही गरेका व्यक्ति समेटेर दर्ता भएको दल नेकपा एस दर्ता भएको उल्लेख गर्दै उनले त्यस्ता व्यक्ति सहभागी हुने बैठकमा सहभागी नहुने जनाएका छन् ।

तर एमालेभित्रको एउटा खेमा भने बैठकमा सहभागी हुनुपर्ने भन्दै नेतृत्वलाई दबाब दिइरहेको छ । मुलुककै महत्वपूर्ण मुद्दामा छलफलका लागि हुने बैठकमा सहभागी नहुनु गैरजिम्मेवारी र प्रमुख प्रतिपक्षी दलको भूमिकामाथि जनताले औंला उठाउने भएकाले सहभागी हुनैपर्ने दबाब दिइरहेका छन् ।

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार भएको भेटवार्तामा सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको थियो ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी। जनमोर्चा नेपाल, राप्रपालगायत दललाई बोलाइएको छ । त्यस्तै प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई समेत बैठकमा बोलाइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ