काठमाडौं । सप्तरीको तिलाठीमा भारतीय पक्षले नदीको बहाव थुनेर तटबन्ध बनाएपछि भएको झडपमा परी घाइते भएका पूर्वजिविस सदस्य देवनारायण यादवलाई काठमाडौं ल्याइएको छ ।
‘राष्ट्रिय स्वाधिनताका लागि युवा अभियान’ नामक अनौपचारिक समूहले सप्तरीमा उपचार गराइरहेका यादवलाई शनिबार काठमाडौं ल्याएको हो । ठाकुर गैरे संयोजक रहेको अभियानमा रामकुमारी झाक्री, राजेश राई, शेखर अधिकारी लगायत १० जना सदस्य छन् ।
विराटनगरबाट प्लेनमा आएका यादवलाई अभियानले स्वयम्भूस्थित प्रस्तावित मनमोहन शिक्षण अस्पतालमा भर्ना गरेको छ ।
उपचारको सम्पूर्ण व्यवस्थासहित काठमाडौंमा रहँदा लाग्ने खर्च अभियानले नै जुटाउने अभियानका सदस्य राजेश राईले जानकारी दिए । यादवलाई भेट्न प्रधानमन्त्री मनमोहन अस्पताल पुग्दै छन् । यादवको टाउकोमा बाँसको चिर्पटले हिर्काएको चोठ भित्र सम्म पुगेको बताइएको छ । उनको एक्सरे भइसकेको र रिपोर्ट आउन बाँकी छ ।