arrow

सहमतीय सरकार बनाउने समय सकिदै, तीन नेतालाई राष्ट्रपतिको निम्तो

logo
प्रकाशित २०७३ साउन १६ आइतबार
Leaders.jpg.jpeg
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि गरेको आह्वानको समयसीमा आज सकिँदै छ ।
 
प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएपछि राष्ट्रपति भण्डारीले गत साउन १० गते सहमतीय सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी थिइन् ।
 
उनले संविधानको धारा ३०५ बमोजिम बाधा अड्काऊ फुकाउ आदेश जारी गर्दै धारा २९८ को उपधारा २ बमोजिम सात दिनभित्र सहमतीय सरकार गठन गर्न आह्वान गरेकी हुन् ।
 
तर दलहरुबीच सहमति हुन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनको एक साताको समय सकिने अन्तिम दिन प्रमुख दलका शीर्ष नेतालाई छलफलमा बोलाएकी छिन् ।
 
सहमति प्रयासबारे जानकारी लिन भण्डारीले शीर्ष नेतालाई बोलाएको उनका स्वकीय सचिव भेषराज अधिकारीले बताए ।
 
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई अहिले बिहान ९ बजे बोलाइएको छ ।
 
आज दिनभरमा पनि दलीय सहमति कायम हुन नसकेमा राष्ट्रपति भण्डारीले संविधानको धारा २९८ को उपधारा ३ बमोजिम बहुमतीय सरकार गठनको आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
 
सहमतीय सरकार गठनको सम्भावना न्यून भएकाले संसद्ले भोलिदेखि बहुमतीय प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाउने छ । सभामुख ओनसरी घर्तीले सोमबारका लागि संसद् बैठक आह्वान गरिसकेकी छिन् ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ