arrow

चन्द्रागिरीमा पर्यटकको भीड, स्वदेशीदेखि विदेशीसम्मको चहलपहल

logo
बाबु नेपाली, 
प्रकाशित २०७८ पुष १६ शुक्रबार
chandragiri-himpat-super.jpg

काठमाडौं । हिउँदमा थोरैमात्र पनि वर्षा भयो भने चन्द्रागिरीमा हिउँ पर्न थाल्छ । त्यही हिउँ हेर्न जानेको भने ताँती नै लाग्छ । उपत्यकाबाट सबैभन्दा नजिकको हिउँपर्ने स्थलमा पर्छ चन्द्रागिरी । अझ केबलकारसमेत चढ्न पाइने भएपछि कसलाई रहर लाग्दैन होला र हिउँसँग खेल्न । 

एकैपटक यो समयमा पर्यटकको आगमन बढी नै हुने गर्छ । मंगलबार राति परेको वर्षासँगैको हिमपातका कारण चन्द्रागिरी सेताम्यै भयो । अनि बुधबारदेखि एकाएक बढ्यो चन्द्रागिरीमा पुग्नेको भीड । 

चन्द्रागिरी हिल्सकी बिक्री तथा बजार प्रमुख इन्दिरा पौडेलका अनुसार बुधबार र बिहीबार गरी दुई दिनमा १८ हजारको हाराहारीमा चन्द्रागिरी पुगे । यो संख्या बालबालिकादेखि वृद्धवृद्धाको हो । विगतका वर्षको संख्या जति भने यो अझै हैन । नसोचेको तरिकाले मंगलबार वर्षा भयो र बुधबार हिउँ पर्यो ।  

अर्थात् सबैजसो मानिसहरु चन्द्रागिरीमा पुगेका छन् । फेरि हिउँमा खेल्न कसलाई मन पर्दैन ? पछिल्लो समय त सेल्फी खिच्नेदेखि हिउँमा रमाएको टिकटक बनाउनेको होड नै चल्ने गरेको छ । जसका कारण पनि चन्द्रागिरीमा जानेको भीड बढेको हो । 

हिउँ भने मंगलबार राति र बुधबार मात्र परेको हो । त्यही जमेको हिउँले बिहीबार पनि काम गरेको छ र आज पनि हिउँ छँदैछ । आज पनि चन्द्रागिरीमा पुग्नेहरुको भीड नै रहेको पौडेल बताउँछिन् । 

केबलकार चढेर चन्द्रागिरी पुग्नेहरु अन्य समयमा पनि हुने गरेका थिए । तर हिउँ परेका बेलामा पुग्नुको मज्जै बेग्लै । अझ यसपालि त डिक्लाइनसँगै थपिएको छ एडभेन्चरको रुपमा वाल क्लाइम्बिङ । पौडेल भन्छिन्, ‘वाल क्लाइम्बिङ छ नयाँ एडभेन्चर भनेको । त्यसले गर्दा अलिकति प्लस प्वाइन्ट भइरहेको छ ।’ 

त्यहाँ पुग्नेहरु स्वदेशी पर्यटकमात्र छैनन् विदेशी पनि छन् । उनी भन्छिन्, ‘धेरै जसो त नेपालीहरु नै हुनुहुन्छ तर त्यसबाहेक इन्डियन, बंगालीहरु पनि हुनुहुन्छ ।’

चन्द्रागिरी हिल्समा एक सय वटा कोठा छन् । जसमा दुई सय २० जनासम्म बस्न मिल्छ । सामान्यतया केबलकार बिहान ९ देखि साँझ ५ बजेसम्म चल्ने गर्छ । तर पर्यटकको चाप बढेको बेलामा भने रातिसम्मै हुनेगर्छ ।

पौडेल भन्छिन्, ‘माथि गएको मान्छे त तल झर्नुपर्यो नि । तलबाट माथि जाने समय ५ बजेसम्म मात्र हो झर्नका लागि त हामीले चलाउनै पर्ने हुन्छ । झार्नु त पर्यो नि ।’  

एकातिर केबलकारको रौनकसँगै मनमोहक दृष्यको आनन्द अनि अर्कातिर हिउँसँग अंगालो हाल्न पाइने । यसैले पनि यतिबेला चन्द्रागिरीमा पर्यटकको चाप बढेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ