arrow

हिजो वीपीले जुन अर्थमा राष्ट्रिय सहमति र मेलमिलाप खोजे आज त्यही नीति र एकताको खाँचो छ – प्रधानमन्त्री देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १६ शुक्रबार
deuba-24324244.jpg

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लामो राजनीतिक सङ्घर्षबाट जारी भएको संविधानमा जनचाहनाअनुसार व्यवस्था गरिएको सङ्घीयता बचाएर राख्न राजनीतिक दल र नागरिक बीचमा मेलमिलाप हुनुपर्ने बताएका छन् । 
 
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा बीपी सङ्ग्रहालय समिति सुन्दरीजलमा आज आयोजित कार्यक्रममा उनले हिजो वीपी कोइरालाले जुन अर्थमा राष्ट्रिय सहमति र मेलमिलाप नीति खोजेका थिए आज मुलुकको वर्तमान अवस्थामा पुनः त्यही नीति र एकताको आवश्यकता रहेको बताए ।
 
प्रधानमन्त्री देउवाले आफू प्रधानमन्त्री र मुलुकको जेठो लोकतान्त्रिक पार्टीको सभापति हुनाका नाताले सबैबीच राष्ट्रिय सहमति र मेलमिलाप कायम राख्न कुनै कसर बाँकी नराख्ने उल्लेख गरे । 

आफू भर्खरै पार्टीको १४औँ महाधिवेशनबाट सभापतिमा पुनःनिर्वाचित भएको बताउँदै उनले यस कार्यकाललाई पूर्ण सफल बनाउन थप जोश र जाँगरका साथ काम गर्न अग्रसर रहेको बताए । सभापतिका हैसियतमा सङ्ग्रहालयको प्रमुख संरक्षकसमेत रहेका उनले सङ्ग्रहालयमा रहेको वीपीको प्रतिमामा माल्यार्पण गरेका थिए ।
 
कार्यक्रममा समितिका अध्यक्ष परशुराम पोखरेलले वीपी सङ्ग्रहालय स्थापनाका मूल मर्म आत्मसात गरेर कांग्रेसका नेता कार्यकता मात्र नभई सबैले मुलुक र जनताप्रतिको आफ्नो जिम्मेवारी तथा दायित्व बहन गर्नुपर्ने  बताए ।

उनले मुलुक र जनताको हितका लागि बीपीले सामना गर्नुपरेका सङ्घर्ष र चनौतीका बारेमा सबैलाई अवगत गराउन नै जेललाई सङ्ग्रहालयमा रुपान्तरण गर्नुपरेको धारणा व्यक्त गरे ।
 
कांग्रेसका संस्थापक नेता वीपी कोइराला विसं २०३३ पुस १६ गते तत्कालीन राजनीतिक व्यवस्थाले लगाएका ठूला–ठूला मुद्दाको पनि परवाह नगरी ज्यानै जोखिममा पारेर राष्ट्रियताको संरक्षण र लोकतन्त्रको स्थापनाको उद्देश्यका साथ राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए ।

कांग्रेसले हरेक वर्ष पुस १६ गतेलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ