arrow

ओलीको शुभकामना सन्देशमा आफूलाई सत्ताबाट हटाएकोमा आक्रोश, अधुरा योजनाको बेलिविस्तार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १७ शनिबार
kp-oli-new.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तब्यमा एमाले अघि बढेको दाबी गरेका छन् ।

शनिबारबाट शुरु भएको अंग्रेजी नयाँ वर्ष सन् २०२२ को अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा लिएर जनतामाझ गएको पनि बताएका छन् ।

विशेषत शुभकामना सन्देशमा ओलीले आफ्नो शासन कालमा गरेका काम र लिएका संकल्पहरुलाई ब्याख्या पनि गरेका छन् । उनले सन् २०२१ मा केही शक्तिहरुले मुलुकको दूरगामी यात्रालाई अनुचित र अनपेक्षित रुपमा अल्मल्याउने काम गरेको आरोप पनि लगाएका छन् ।

अध्यक्ष ओलीले मुलुकलाई अस्थिरताको दुष्चक्रबाट बाहिर निकालेर विकासको असाधारण अभियानतर्फ अगाडि बढाइरहेको नेकपा (एमाले)को सरकारलाई संविधानको अपब्याख्याद्वारा हटाउँदै संवैधानिक विचलन, अराजकता र सत्ताको अनुचित भागबण्डाको विकृतिपूर्ण अवस्थामा धकेल्ने काम भएको पनि औंल्याका छन् ।

जनमतद्वारा राष्ट्रिय राजनीतिक दिशा निर्धारण गर्ने प्रयासलाई अवरोध गर्दै एमालेलाई जालझेलपूर्ण तवरले सरकारबाट हटाइएपछि राष्ट्रका गौरवपूर्ण उपलब्धिलाई समस्याका रुपमा देख्ने र राष्ट्रको स्वाधीनता तथा सार्वभौमसत्ताप्रति उदासीन रहने अकर्मण्य, कर्तव्यहीन, उद्देश्यहीन र गन्तव्यहीन प्रवृत्तिको आरोप लगाएका छन् । उनले शुभकामना सन्देशमा ओलीले सत्तारुढ दलमाथि प्रहार र आफ्नो शासनकालमा भएका प्रयासहरुलाई बेलिविस्तार लगाएका छन् ।

ओलीले लेखेका छन्ः 

वितेका केही वर्षदेखि विकास र समृद्धिको यात्रातर्फ मुलुक अघि बढिरहेको थियो । भर्खरै विदा भएको सन् २०२१ मा केही शक्तिहरुले मुलुकको दूरगामी यात्रालाई अनुचित र अनपेक्षित रुपमा अल्मल्याउने काम गरे । मुलुकलाई अस्थिरताको दुष्चक्रबाट बाहिर निकालेर विकासको असाधारण अभियानतर्फ अगाडि बढाइरहेको नेकपा (एमाले)को सरकारलाई संविधानको अपब्याख्याद्वारा हटाउँदै संवैधानिक विचलन, अराजकता र सत्ताको अनुचित भागबण्डाको विकृतिपूर्ण अवस्थामा धकेल्ने काम भए । यसैवर्ष जनमतद्वारा राष्ट्रिय राजनीतिक दिशा निर्धारण गर्ने प्रयासलाई अवरोध गर्दै नेकपा (एमाले)लाई जालझेलपूर्ण तवरले सरकारबाट हटाइएपछि राष्ट्रका गौरवपूर्ण उपलब्धिलाई समस्याका रुपमा देख्ने र राष्ट्रको स्वाधीनता तथा सार्वभौमसत्ताप्रति उदासीन रहने अकर्मण्य, कर्तव्यहीन, उद्देश्यहीन र गन्तव्यहीन प्रवृत्ति देखिए ।

वितेको वर्षमा नेकपा (एमाले)को सरकारका ऐतिहासिक प्रयासले प्रमाणित गरेको छ– हामी मुलुकबाट गुमाइएको भूभाग फिर्ता गर्न प्रयासरत थियौँ र राजनीतिक प्रणालीभन्दा बाहिर रहेका शक्तिहरूमा संविधानप्रतिको स्वीकार्यता बढाउन सफलता प्राप्त गरिरहेका थियौँ । मुलुकलाई विकासको तीव्र गतिमा अघि बढाएर नवविनर्माणको नयाँ युगको थालनी गरिरहेका थियौँ । जनादेशद्वारा स्थापित हाम्रो नेतृत्वमा यस्ता युुगान्तकारी कामहरु भइरहेका बेला संविधानले परिभाषित गरेका राज्यका अंगहरूलाई दुरुपयोग गरी संविधान र प्रणालीको अतिरिक्त व्याख्या÷अपव्याख्याद्वारा यसमा अवरोध पुु¥याउने बिडम्बनापूर्ण अवस्था हामीले देख्यौँ र भोग्यौँ । यसले मुलुकको दूरगामी यात्रालाई अल्मल्याउने काम मात्र मात्र गरेन, संविधान र संवैधानिक संस्थाहरुप्रतिको जनताको आस्थामाथि समेत चोट लगाउन पुुग्यो । फलस्वरुप आज मुलुकको विकासका सम्पूर्ण कामहरुमा अल्पविराम लागेका छन् र केहीवर्षयता सुरु भएको विकासको राष्ट्रिय बहसको ठाउँ सत्ताशक्तिको अनुचित भागबण्डा, लेनदेन र राज्यस्रोतको दोहनले लिएको छ ।

विगत वर्षमा नेकपा (एमाले)ले सरकारमा रहेर निर्वाह गरेको भूमिकाका कारण हामीले नेपाललाई निम्न अर्थतन्त्रको मुलुकबाट माथि उठाएर निम्नमध्यम अर्थतन्त्रको मुलुकका रुपमा स्थापित गर्न सफल भएका छौं । संयुक्त राष्ट्रसंघको विकास लक्ष्य अनुरुप सन् २०२२ भित्र नेपाललाई मध्यम अर्थतन्त्र भएको मुलुकमा वर्गाेत्थान गर्ने सफलतामा पु¥याएका छौं । भूकम्पले थिलथिल्याएका संरचनाहरु र अर्थतन्त्रलाई सफल पुनर्निर्माण गर्दै वितेका वर्षहरुमा हामीले मुलुकमा नवनिर्माणको चौतर्फी अभियान चलाएका थियौैं । यातायात पूर्वाधार, पुल, रंगशाला, पुरातात्विक सम्पदा, स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वाधार निर्माणमा हामी विगतको तुलनामा निकै अघि बढ्न सफल भयौं । त्यसका केही मूर्त प्रतिफलहरु आज हामी देखिरहेका छौं । हामीले यही अवधीमा विकासका केही दूरगामी योजनाहरु थालनी ग¥यौं भने जनताको जीवनमा प्रत्यक्ष परिवर्तन महसुस गराउने केही आयोजनाहरु सम्पन्न ग¥यौं । आपसमा निराशा बाँडेर बस्ने हाम्रो समाजिक प्रबृत्तिलाई नेकपा (एमाले)को सरकारले सुशासन र समृद्धितर्फको बहसमा केन्द्रित गर्न सफल भएको थियो ।

हामी हाम्रा देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा लिएर जनतामाझ गएका छौँ । नेकपा (एमाले)ले लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित परिभाषाबाट माथि उठाउँदै जनताका सम्पूर्ण आवश्यकता र अधिकार परिपूर्तिको जीवनमूल्य समेटिएको परिपूर्ण लोकतन्त्रका रूपमा अघि सारेको छ । लोकतन्त्रको यही परिभाषालाई व्यवहारमा अनूदित गर्दै हाम्रो नेतृत्वको सरकारले राज्यसञ्चालन गरेका बेला जनताको जीवनमा परिवर्तन ल्याउन देशलाई सुशासनयुक्त, पछौटेपनमुक्त, गरिबीरहित, सुशिक्षित, आधुनिक, समृद्ध र सुविधासम्पन्न बनाउने काम अघि बढायो । हामीले थालनी गरेका दूरगामी महत्वका कामहरू बहुसङ्ख्यक जनताको दैनिक जीवनका साझा राष्ट्रिय उपलब्धिका रूपमा रहेका छन् । मुलुकको नवनिर्माणको यस अभियानलाई हामी अझ असाधारण र द्रुतगतिमा अघि बढाउन चाहन्छौँ ।

हामी समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तब्यमा अघि बढिरहेका छौं । समृद्ध नेपाल, सुखी नेपालीको यस राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न सुस्थीर राजनीति अपरिहार्य छ । मुलुक निर्माणको प्रथमिकताबाट बिमूख ब्यक्ति र समुहहरुका निजी दुराकाङ्क्षाहरुले सिर्जना गरेका अवरोधहरुलाई छिचोल्दै राष्ट्रको यस साझा आकाङ्क्षा पूरा गर्ने बाटोमा नेकपा (एमाले) अविचलित निष्ठासाथ अघि बढिरहेको छ । अनुचित दुष्प्रयासहरुले अवरोध पु¥याएर थाती रहन पुगेका राष्ट्रिय समृद्धिका यी पाइलाहरुलाई उचाईमा पुयाउने नेकपा (एमाले)को यस अभियानमा सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायका दिदीबहिनी दाजुभाइहरुको साथ रहनेछ भन्ने मैले अपेक्षा गरेको छु । 
अन्त्यमा, नयाँ वर्ष सन् २०२२ को अवसरमा स्वदेश र विदेशमा रहनु भएका समस्त दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र सफलताका लागि पुनः हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

केपी शर्मा ओली
अध्यक्ष
(१ जनवरी २०२२)                                



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ