- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । गत मंसिर महिनाभित्र निर्माणकार्य सम्पन्न गरेर प्रदेशको हिउँदे अधिवेशन नयाँ संरचना र त्यो पनि स्थायी राजधानीको दाङको देउखुरी उपत्यकाको मौरीघाटबाट गर्ने भनी लुम्बिनी प्रदेश सरकारले शुरुमा प्रिफ्याव संरचनामा ५ करोड ५० लाख रुपैयाँ लागतमा प्रदेशसभा भवन निर्माणकार्य योजना तयार गर्यो । शुरु पनि भयो ।
हिउँदे अधिवेशन नयाँ भवनबाट गर्ने लक्ष्यका साथ अगाडि बढेको प्रदेश सरकारको योजनामा प्रदेश सरकारको अर्थ मन्त्रालयले बजेट विनियोजन नगर्दा अहिले भवन निर्माणकार्य बिचैमा रोकिन पुगेको छ । जसले गर्दा हिउँदे अधिवेशन स्थायी राजधानीबाट गर्ने लक्ष्य दिवा सपनामा परिणत हुने संकेत देखिएको छ । अर्थ मन्त्रालयले आवश्यक बजेट विनियोजन नगरेपछि भवन निर्माणकार्यमा ब्रेक लागेको छ ।
निर्माणाधीन प्रदेशसभा निर्माणकार्य किन रोकियो ? भन्ने जिज्ञासामा प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख अनन्तराज घिमिरेले भने, ‘सरकारले पहिले प्रिफ्यावबाट बनाउने भनी योजना बनाएको थियो । पछि त्यो संरचना भरपर्दो र बलियो नहुने भन्दै इट्टाको गाह्रो लगाउने, आँखी झ्याल राख्ने र ढुंगाको छानो लगाउने भनेपछि त्यसको थप लागत हामीले अनुमानित रुपमा ३ करोड रुपैयाँ आवश्यक पर्ने प्रतिवेदन पठाएका छौं । सो वजेट स्विकृत भैसकेको छ । तर सरकारले गठन गरेको विज्ञ समूहले स्थलगत रुपमा निर्माणाधिन कार्यको अनुगमन नगर्दा सम्म निर्माणकार्य थालनी नहुने प्रावधानले सुचारु हुन सकेको छैन ।’
प्रमुख घिमिरले भने, ‘गत मंसिर २० गतेदेखि निर्माण व्यवसायीले काम बन्द गरेका छन् । हालसम्म भवन निर्माण कार्य ६५ प्रतिशत सकिएको छ ।’ विज्ञ समूहले अनुगमन गरेपछि एक महिनाभित्र भवन निर्माणकार्य सम्पन्न हुने प्रदेश पूर्वाधार विकास प्राधिकरणले जनाएको छ ।
भवन निर्माणकार्य रोकिनुलाई करिब एक महिना अगाडि प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख अनन्तराज घिमिरेलाई सामाजिक सञ्जालमा एक सुवोध बेल्बासे नामबाट खोलिएको फेसबुकबाट राजधानी निर्माण कार्य रोक्न आग्रह गर्दै नरोके मार्ने धम्की दिनुको साथै अर्थ मन्त्रालयले बजेट रोकिसक्यो, निर्माण व्यवसायी (ठेकेदारले) काम रोक्न तयार छ जस्ता धम्कीपूर्ण म्यासेज लेखेको केहीसमय पश्चात् भवन निर्माण कार्य रोकिनुले आशंका अर्थाउन थालिएको छ ।