arrow

लुम्बिनी पर्यटन सर्किट बनाउने तयारी भइरहेको छः मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १२ शनिबार
chetnarayan-acharya-cm-lumbini.jpg

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको पर्यटन प्रवर्द्धका लागि प्रदेशका १२ जिल्ला समेटी ‘लुम्बिनी पर्यटन सर्किट’ बनाउने तयारी भइरहेको बताएका छन् । 

विश्व पर्यटन दिवसका अवसरमा आज घोराहीमा उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिकाको आयोजनामा भएको कार्यक्रममा उनले ‘लुम्बिनी घुमौं’ अभियानलाई व्यापक बनाउने समेत घोषणा गरे ।

उनले भने, “म सबैलाई एकपटक लुम्बिनी भ्रमण गर्न आह्वान गर्छु, लुम्बिनी प्रदेश पर्यटनको केन्द्र हो । यहाँका हरेक जिल्ला पर्यटकीय हिसाबले उपयुक्त छन् ।”

उनले लुम्बिनी विदेशी पर्यटक भित्र्याउन अन्तर्राष्ट्रिय स्तरमा पनि समन्वय भइरहेको बताए । “लुम्बिनी प्रदेश पर्यटकीय दृष्टिकोणले अगाडि छ, विभिन्न जातजाति, समुदायको कला संस्कृतिले लुम्बिनीको पहिचान विश्व समुदायमा पुगेको छ”, उनले भने । 

उद्योग  पर्यटन  तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले पर्यटन क्षेत्रको विकासमार्फत रोजगारी सृजना गर्ने सकिने बताए । 

“देशमा केही छैन, केही हुँदैन भन्ने भाष्यका कारण युवा पलायनको स्थितिलाई सरकारले गम्भीरतापूर्वक लिएको छ । नेपालमा भएका सम्भावना र अवसरको पहिचान गरी यही रोजगारी सृजना गर्नुपर्छ”,  उनले भने । 

यसका लागि प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लाको सम्भावनाको पहिचान गरी काम गर्ने बताए । 

त्यसअवसरमा घोराही उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख हुमाकुमारी डिसीले पर्यटनको विकासबाट समृद्धी हासिल गर्न सकिने उल्लेख बताए । 

झाँकी र रैथाने परिकार

पर्यटन दिवसका अवसरमा विभिन्न समुदायको झाँकी, रैथाने परिकार, हस्तकलाका सामग्री प्रदर्शनी गरिएको छ ।

त्यसअवसरमा तुलसीपुरले गन्धर्व समुदायको मालाश्री सारङ्गी धुन, अवधि संरक्षण प्रतिष्ठान गढवाले अवधि नाच, देउखुरीका थारु समुदायले कठघोरी नाच प्रस्तुत गरेका थिए ।

नेवार सेवा समाज दाङको लाखे नाच, तुलसीपुर गरगरवाका स्थानीयले नुवागाउँले सोरठी नाच प्रस्तुत गरेका थिए । 

पाल्पा मिस्दी गाउँपालिकाको कौरा नाच, घोराही-१० को थारु समुदायको वडाका नाच, घोराही-१७ का थारु समुदायको सख्या नाच, लुकमेली खाम समाजको भुम्या नाच पनि प्रस्तुत गरिएको थियो । 

उत्कृष्टलाई पुरस्कार

पर्यटन दिवसका अवसरमा सहभागी उत्कृष्ट झाँकी, नृत्य र हस्तकलालाई पुरस्कृत गरिएको छ । मूल्याङ्कन समितिका अनुसार झाँकीतर्फ लुगुम्याल खाम समाज दाङ प्रथम भएको छ । 

यसैगरी, अवधि सांस्कृतिक प्रतिष्ठान गढवा द्वितीय, शीतल टोल विकास संस्था घोराही १३ तृतीय भएको छ ।

पञ्चशील आमा समूह ट्राफिक टोल, नेवार सेवा समिति घोराही र श्री सरयु राममन्दिर घोराही-१ सान्त्वना भए ।

मौलिक लोक नृत्यतर्फ राप्ती गाउँपालिका-५ लट्ठहवाको कठघोरी नृत्य प्रथम भएको छ भने नुवा गाउँले सोरटी द्वितीय र  नेवार सेवा समिति घोराहीको लाखे नृत्य तृतीय भएको छ ।

यसैगरी, पाल्पाको निस्दीबाट सहभागी कौरा नृत्य, घोराही-१७ ओखराको सख्या नृत्य सान्त्वना भएको छ ।

त्यसैगरी मौलिक हस्तकला प्रदर्शनीतर्फ चिनारी महिला साझेदारी समूह घोराही प्रथम, लमही-४ भैसकुर्माको मेह्री हस्तकला केन्द्र द्वितीय, गढवा-३ गोबरडिहाको शुभश्री प्राकृतिक रेसा तथा पोतेजन्य हस्तकला तृतीय भए ।

प्रदर्शनीमा युनिक दिदीबहिनी अल्लो उद्योग घोराही, राप्ती खुकुरी उद्योग तुलसीपुर सान्त्वना भए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ