arrow

ओली निवासमा देउवा जानुको अर्थ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २४ शनिबार
deuba-oli-2022.JPG

काठमाडौं । अहिले देशको मौसम बिग्रिएको छ । आकाशतिर फर्किदा अहिले नै पानी चुहिन्छ कि जस्तो छ । अर्थात् मौसम ठीक छैन । देशको राजनीति पनि ठीक त्यस्तै छ । बिग्रिएको छ ।

शीर्ष दलहरुले महाधिवेशन त गरेका छन् तर त्यसले राष्ट्रिय एकताको राजनीतिलाई फरक पारेको छैन । अर्थात् संसद अवरुद्ध छ । सरकारले संसदमा कुनै पनि एजेन्डा लगेर सहमतिका आधारमा पारित गर्न सकेको छैन । सरकार र प्रमुख प्रतिपक्षबीच पानी बाराबारको अवस्था छ । 

यही अवस्थाको अन्त्य गर्न प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न शनिबार बिहान भक्तपुरको बालकोटस्थित ओली निवास पुगेका छन् । 

लामो समयको अन्तरालमा देउवा ओली निवासमा पुगेका हुन् । भेटमा एमालेले संसदमा गरिरहेको अवरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ । देउवाले ओलीको निवासमै गएर ओलीलाई संसदको गतिरोध हटाउन अनुरोध गरे । 

त्यस्तै भेटमा देउवाले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता अगाडि बढाउने विषयमा पनि सहयोग मागेका छन् । ओलीले नै आफ्नो पालामा संसदमा एमसीसी दर्ता गरेका थिए । 

तर तत्कालीन नेकपाभित्रै चरम असन्तुष्टि (एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपा) भएपछि एमसीसी अगाडि बढ्न सकेन । देउवा त्यतिबेला प्रमुख प्रतिपक्षमा भए पनि एमसीसी पारित गर्नुपर्छ भन्नेमा थिए । 

हाल एमाले भने कारवाही गरेका माधवकुमार नेपालसहित १४ सांसदको कारवाही रोकेर अवैध रुपमा दल (नेकपा एकीकृत समाजवादी) दर्ता गरिएको भन्दै लगातार संसद अवरुद्ध गर्दै आएको छ । 

माधव नेपालको कारबाही वैध हुनुपर्ने, सांसदको हैसियतमा संसदमा उपस्थित गराउन नहुने र कारवाही रोक्ने सभामुख अग्नि सापकोटाले राजीनामा दिनुपर्ने एमालेको माग छ ।

यो मागबाट आफू पछि नहट्नेमा एमाले अडिक छ । संसद अवरुद्ध गर्दै गर्दै अन्त्यमा आफूहरु त्यही माग लिएर जनता सामु जाने र चुनाव जितेर देखाउने योजनामा एमाले छ । 

नेपाली कांग्रेसका सभपातिसमेत रहेका प्रधानमन्त्री देउवा सामु भने संसदको गतिरोध अन्त्य गरी एक सफल सत्ता संचालक बनेर चुनावमा जानुपर्नेछ । 

अर्कातिर सत्तागठबन्धन पनि बलियो पार्नुपर्ने ठूलो जिम्मेवारीमा देउवा छन् । यद्यपि चुनावका बेलामा कसरी अगाडि बढ्ने भन्ने बारेमा पछि नै निर्णय होला । एमाले यो गठबन्धन चुनावसम्म टुक्रयाउन चाहिरहेको छ । त्यसो भए आफ्नो दलले पहिलेकै स्तरमा पकड जमाउन सक्ने उसको आँकलन छ । 

अर्कातर्फ गठबन्धन दलहरुले (कांग्रेस बाहेक जसले एक्लै चुनाव लड्दै आएको छ) गठबन्धनलाई बलियो पार्न पाए अर्को पनि सत्ता सहयात्रा गर्न पाइने निष्कर्षतिर पुगेका छन् । 

यद्यपि एमसीसीका सबालमा भने उनीहरु विभाजित छन् । सत्ता गठबन्धनका कांग्रेस र जनता समाजवादी पार्टी बाहेक बाँकी तीन दल यसको विपक्षमा देखिन्छन् । तर एमसीसीबारे अहिलेसम्म सत्ता गठबन्धनबीच ठोस निर्णय भने हुन सकेको छैन । 

यही परिस्थितिबीच देउवा र ओलीबीच छलफल भएको छ । फेरि एमाले सर्वदलीय बैठकमा पनि गएन । सभामुखले बोलाएको बैठकमा पनि गएन । 

माधवकुमार नेपालको उपस्थिति हुने बैठकमा जान एमालेलाई अप्ठेरो लाग्छ । किनकि उसैले कारबाही गरेको नेता सहभागी बैठकमा जानु पनि स्वीकार्नु बराबर हो भन्ठानेको हुनुपर्छ ।

तर सरकारले बोलाएको बैठकमा जाने बताएकै छ । देउवासँग छलफल गरेर निष्कर्ष निकाल्न तयार रहेको जनाएकै छ । सो अर्थमा देउवा र ओलीबीच भएको वार्तालाई अर्थपूर्ण रुपले हेरिएको छ । 

त्यसो त सत्तागठबन्धनले पनि आफूहरुले ओलीलाई फकाउन नसक्ने निष्कर्ष निकालेरै संसदको अवरोध हटाउनका लागि एमालेसँग वार्ताका लागि देउवालाई नै जिम्मा दिएको छ । 

त्यो जिम्मापछिको पहिलो प्रयासस्वरुप देउवा बालकोट पुगेका हुन् । अब राजनीतिले कुन मोड लिन्छ त्यो भोलिका दिनले बताउने नै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ