काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको जिल्ला अधिवेशनअन्तर्गत सप्तरीमा सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिबार अबेर सम्पन्न अधिवेशनको बन्दसत्रले ताराकान्त चौधरीका अध्यक्षतामा १३१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।
तत्कालीन संविधानसभा सदस्य उनी नेकपा विभाजित भएपछि २०७८ वैशाख २२ गतेदेखि जिल्ला कमिटीका अध्यक्ष बन्नुभएको थयो । नवनिर्वाचित कमिटीका उपाध्यक्षमा अब्दुल मजिद साकिर, सचिवमा देवनाथ यादव, उपसचिवमा अखिलेश झा र कुसुम आचार्य चयन भएका छन् ।
यसैगरी सल्लाहकारमा शङ्कर देव, मन्जु साह, भोला राउत, कुन्जीलाल चौधरी, मो युनिस, चित्रकला मगर, रामवृक्ष महतो, भुवन केसी, शत्रुघनप्रसाद यादव, मागैन मण्डललगायत २३ सदस्यीय सल्लाहकार समिति गठन भएको छ । नवनिर्वाचित कमिटीलाई एमालेका सचिव तथा प्रदेश २ का इन्चार्ज रघुवीर महासेठले पद तथा गोपनीयताको शपथग्रहण गराए । नवनिर्वाचित अध्यक्ष चौधरीले देश र जनताको सेवा गर्ने प्रतिबद्धता जनाए ।
त्यस्तै एमाले मोरङको अध्यक्षमा ऋषिकेश पोखरेल निर्विरोध निर्वाचित भएका छन् । एमालेको शनिबार राति सम्पन्न दुईदिने जिल्ला अधिवेशनले उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा, सहसचिवमा शान्तिकुमारी लिम्बू र सन्तोष साहको निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै १६५ जनाको जिल्ला समितिको सदस्य पदको निर्वाचन पार्टी कार्यालय पाञ्चालीमा सोमबार बिहान १० बजेदेखि हुने बताइएको छ ।