arrow

नोबेल मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति, विद्यार्थी आन्दोलन स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २ आइतबार
noble-sahamati-student-fee.jpg

विराटनगर । नोबेल मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति जुटेको छ । आन्दोलनरत विद्यार्थीका अभिभावक र कलेज प्रशासनले शनिवार साँझ सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । नोबेल मेडिकल कलेजमा भएको छलफलमा दुवै पक्ष लचकता अपनाउन तयार भएपछि सहमति जुटेको हो । 

दुई पक्षबीच भएको छलफलमा कलेज प्रशासन होस्टेल शुल्क घटाउन तयार भएको छ । यसअघि प्रति विद्यार्थी मासिक १२ हजार रुपैयाँ लिइदै आएको होस्टेल शुल्क घटाएर अब कलेज प्रशासनले १० हजारमा झार्ने भएको छ । 

यता होस्टेल ऐच्छिक गर्नुपर्ने अडान राख्दै आएको आन्दोलनरत पक्षले पनि त्यसमा लचकता देखाएर होस्टलमै विद्यार्थी बसाउन तयार भएको छ । त्यस्तै चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क तिर्न अभिभावकहरु तयार भएका छन् ।

सहमति पत्रमा नोबेल मेडिकल कलेजका तर्फबाट प्राचार्य प्राडा. रामहरी घिमिरे, सल्लाहकार डा. केपी शर्मा र प्रवन्धक नारायणप्रसाद दाहालले हस्ताक्षर गरेका छन् । 

आन्दोलनरत विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै उनीहरुका अभिभावक बीरेन्द्र भगत, राजेन्द्रबहादुर थापा, प्रकाश फुयाल र रामकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

सहमति जुटेकाले अब विद्यार्थी आन्दोलन स्थगित हुने अभिभावकहरुले जनाएका छन् । 

नोबेल मेडिकल कलेजका सञ्चालक डा.सुनिल शर्माले पनि अभिभावकहरुसँग सहमति जुटेकाले विद्यार्थी आन्दोलन स्थगित भएर अब पठनपाठन नियमित हुने प्रतिक्रिया दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ