arrow

नोबेलमा मुटुको धड्कन बढ्ने बिरामीहरुलाई राहत, छ यस्तो प्रविधि

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ९ मंगलबार
nobel-lab-heart-operation.jpg

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको मुटु रोग विभागमा मुटुको धड्ककन बढ्ने बिरामीहरुको दीर्घकालीन उपचारको लागि इलेक्ट्रोफिजियोलोजी स्टडी र रेडियोफ्रिक्वेन्सी एब्लेसन सेवा शुरु भएपछि पूर्वी नेपालका यस्ता समस्या भएका बिरामीहरुको चाप बढ्न थालेको छ । 

मुटुको धड्कन बढ्ने समस्याको लागि लामो समय औषधि खानु पर्ने र औषधि सेवन गर्दै गए पनि समयान्तरमा औषधि प्रभावकारी नभएको खण्डमा रेडियोफ्रिक्वेन्सी एब्लेसन नै यसको उपचार भएको र यो सेवा पूर्वमा नै उपलव्ध हुने भएको हुँदा बिरामीहरुलाई सहज भएको हो ।

मुटुरोग विभागका प्रमुख वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा राजेश नेपालका अनुसार हाम्रो मुटुलाई चलाउने जुन प्रणाली छ त्यो विद्युतीय तरङ्गको प्रवाहले हुन्छ । मुटुको माथिल्लो खण्डमा एस ए नोड हुन्छ । त्यहाँबाट विद्युतीय प्रवाह अर्थात् मुटुको चाल शुरु भई मुटुको तल्लो खण्ड भन्दा केही माथि रहेको ए भी नोडमा जान्छ । 

एस ए नोडबाट निस्किएको विद्युतीय तरङ्गको प्रवाहले मुटुको माथिल्लो खण्डलाई खुम्चाउने कार्य गर्दछ भने ए भी नोडबाट बण्डल अफ हिज हुँदै बण्डल ब्रान्चहरुमा विद्युतिय तरङ्ग प्रवाह हुँदा मुटुको तल्लो खण्ड खुम्चिने गर्दछ । 

एस ए नोड प्राकृतिक पेसमेकर हो र एस ए नोड, ए भी नोड र बण्डल ब्रान्चहरुले गर्दा मुटुलाई चलायमान गर्दछ । तर कसै कसैको ए भी नोड भित्र वा बाहिर विद्युत प्रवाहमा चोर बाटो हुने गर्दछ ।  यस्तो चोर बाटोले गर्दा विद्युतीय तरङ्गको प्रवाह राम्रो संग हुन नसक्दा मुटुको चाल बढी भई धेरै ढुकढुक हुने गर्दछ ।

डा. नेपालले भने, ‘मुटुको माथिल्लो खण्डको चाल गडबड हुने समस्यालाई पारोक्सिस्मल सुप्राभेन्टिकुलर ट्याचिकार्डिया (पीएसभीटी) भनिन्छ । पीएसभीटीमा मानिसलाई चक्कर लाग्ने र धडकन बढ्ने समस्या भई बारम्बार दुःख दिने गर्दछ भने भेन्टिकुलर ट्याचिकार्डिया (भीटी) मा मुटुको तल्लो खण्ड बढी धक्धकाउने भएकोले मुटुले शरीरमा पुर्याउनु पर्ने रगतको प्रवाहमा कमी हुन जान्छ । यो अवस्थामा मानिस बेहोस हुने र ज्यान नै जान सक्ने हुन्छ ।’

उनका अनुसार विश्वमा करिब १० प्रतिशत मानिसहरुको जन्मजात मुटु चलाउने विद्युतीय तरङ्गको प्रवाहमा चोर बाटो हुने अध्ययनले देखिएको छ । तर तीमध्ये कसै कसैलाई धड्कनको समस्या आउने गर्दछ ।

मुटुको यस्तो समस्याको परीक्षण तथा उपचार सेवा नोबेलमा रहेको छ । इलेक्ट्रोफिजियोलोजी स्टडी अर्थात ईपी ल्याबले मुटुको परीक्षण गरेर समस्याको अध्ययन गर्न सहज गर्दछ र बिरामीको अवस्थाको जानकारी पाइन्छ । 

नोबेलमा टुडी म्यापिङ्ग उपलब्ध रहेको नोबेलले जनाएको छ । यसको आधारमा मुटुको विद्युतीय तरङ्गको प्रवाहको आधारमा कार्य प्रणालीको अध्ययन गर्न सकिने प्राडा नेपालले बताए । 

रोग पत्ता लागेपछि रेडियोफ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट मुटुको चालको विद्युतिय प्रवाहको चोर बाटो डाम्ने गरिन्छ । प्राडा नेपालका अनुसार यो सेवा काठमाडौँमा गंगालाल हृदय रोग केन्द्र र ह्याम्समा उपलव्ध छ भने काठमाडौँ बाहिर नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा मात्र रहेको छ ।

मुटुभित्र विद्युतीय तरङ्ग प्रवाहको चोर बाटो कसरी बन्द गरिन्छ त भन्ने प्रश्नमा डा. नेपाल भन्दछन्, ‘रेडियोफ्रिक्वेन्सी एब्लेसन प्रविधिमा मानिसको तिघ्रा र घाँटीको नसाबाट क्याथेटर (तार) छिराएर मुटुलाई चलाउने विद्युतीय तरङ्ग प्रवाहको चोर बाटोसम्म पुगी त्यसलाई डाम्ने गरिन्छ । यो अति नै भरपर्दाे प्रविधि हो । यसमा बिरामीलाई बेहोस पार्नु पर्दैन । अस्पताल बसाइ एक दिनमात्र हुन्छ र एक महिनाको औषधि सेवनपछि अरु खानु पर्दैन ।’

वरिष्ठ मुटु रोग विशेषज्ञ प्राडा सहदेव ढुंगानाका अनुसार मुटु चलाउने विद्युतीय तरङ्गको प्रवाहमा हुने चोरबाटोले गर्दा आउने समस्याको लागि औषधि पनि खान सकिन्छ । यसरी औषधि खानेले आजिवन औषधि सेवन गर्नु पर्छ र औषधिको प्रभाव हुन छोडेमा रेडियोफ्रिक्वेन्सी एब्लेसन नै गर्नु पर्दछ । यो प्रविधिको सक्सेस रेट ९८ प्रतिसत रहेको उनको भनाइ छ । यो भरपर्दाे भएको र औषधि खाई राख्नुपर्ने, औषधि छुटाउन नहुने बाध्यता पनि हट्ने भएकोले बिरामीलाई धेरै सजिलो हुन्छ ।

वरिष्ठ इलेक्ट्रोफिजियोलोजिष्ट डा. रोशन राउतका अनुसार अमेरिकन कलेज अफ कार्डियोलोजी र अमेरिकन हार्ट एसोसिएसनले मुटु चलाउने विद्युतीय तरङ्गको प्रवाहमा हुने चोर बाटोको कारण बारम्बार समस्या हुनेलाई औषधि भन्दा रेडियोफ्रिक्वेन्सी एब्लेसन नै गर्न सुझाएको छ । 

यो नै यस्तो समस्याको सही उपचार पद्धतिी हो । ईपी ल्याबमा मुटुको जाँच कसरी गरिन्छ भन्ने प्रश्नमा उनले भने ‘यो मुटुको कार्य गर्ने तरिकाको जाँच गर्ने प्रविधि हो । मुटुले सही ढंगबाट कार्य गरेको छ कि छैन ? छैन भने के समस्या हो ? यो परीक्षणले थाहा हुन्छ । मुटु भित्र क्याथेटर (तार) हरु छिराएर मुटुको विद्युतीय तरङ्गहरुको एक उपकरणको सहायताबाट अध्ययन गरिन्छ । मुटुको लय गडबडी गर्ने असामान्य विद्युत प्रवाह पत्ता लगाउन र त्यसको सही उपचार निर्धारण गर्न यो प्रविधिको प्रयोग हुन्छ । इलेक्ट्रोफिजियोलोजी स्टडीको दौरान नै रेडियोफ्रिक्वेन्सी एब्लेसन गर्न सकिन्छ । रेडियोफ्रिक्वेन्सी एब्लेसन गर्दा क्याथेटरको सहायताले असामान्य विद्युत प्रवाह गर्ने तन्तुलाई डाम्ने गरिन्छ जसले गर्दा त्यस्ता असामान्य विद्युत प्रवाह रोकिने गर्दछ अर्थात् मुटु चलाउने विद्युतीय तरङ्ग प्रवाहमा भएको चोरबाटोलाई डामेर बन्द गरिन्छ ।’

इलेक्ट्रोफिजियोलोजी स्टडी र रेडियोफ्रिक्वेन्सी एब्लेसन सेवा उपलब्ध भएपछि नोबेल शिक्षण अस्पतालमा मुटुको धड्कन असामान्य हुने समस्याका बिरामीहरुलाई उपचार सेवा पाउन सहज भएको छ । एकै छानामुनि सबै प्रकारका विशेषज्ञ विशिष्ट सेवा उपलब्ध हुनुले पूर्वी नेपालका बिरामीहरुको रोजाइमा नोबेल नै पर्ने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ